Logo

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए । रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।


सम्बन्धित समाचार