Logo

६ चैत,बारा । आन्तरिक राजश्व कार्यालय सिमरा बारामा चालु आर्थिक वर्षको आठ महिनामा ९ करोडभन्दा बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्ष ०८०÷०८१ को साउनदेखि फागुनसम्ममा कार्यालयले ९ करोड ४८ लाखभन्दा बढी राजश्व संकलन गरेको हो ।

सोही समयमा पाएको १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजारको लक्ष्यमध्ये कार्यालयले ९ अर्ब ४८ करोड ११ लाख ११ हजार रुपैँयामात्र संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । चालु आर्थिक बर्षको फागुन महिनासम्म तोकिएको लक्ष्य भन्दा २६.४५ प्रतिशतले यो कम हो ।

गत आर्थिक बर्ष २०७९÷०८० को फागुन महिनासम्मको राजस्व सङ्कलनसँगको तुलनामा ६.३८ प्रतिशतले कमी आएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ ।
चालु आवमा आन्तरिक राजस्व कार्यालय सिमराले अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी बार्षिक २० अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

कार्यालयले चालु आर्थिक बर्षको साउन देखि फागुन महिना सम्म आय करतर्फ ४१ करोड ४३ लाख४० हजार लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड २७ लाख २५ हजार रुपैया सङ्कलन गर्न सफल भएको छ । मुल्य अभिवृद्धिकर तर्फ ५४ करोड ९२ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ५७ करोड ९७ लाख ५४ लाख रुपैया राजस्व सङ्कलन गर्न सफलता प्राप्त भएको छ ।

त्यस्तै अन्त शुल्क तर्फ ११ अर्ब ९६ करोड २६ लाख ९४ हजार रुपैया लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ४७ करोड ८६ लाख ३१ हजार रुपैया मात्र सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले जनाएको छ । आयकर र मुल्य अभिवृद्धि करतर्फ लक्ष्य भन्दा बढि क्रमसः १०२ प्रतिशत र १०५.६ प्रतिशत प्रगती हासिल गर्न सके पनि अन्त शुल्कतर्फ लक्ष्यको ७०.८७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत खतिवडाले बताउँनुभयो ।

कार्यालयअन्तर्गत बारा र रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत खतिवडाले लामो समय देखि अटेरी गरी बक्यौता नबुझाउँने बिवरण दाखिला नगर्ने करदाताको नाम फागुन महिनाभित्रै पत्रपत्रिकामा सुचना प्रकाशन गरी उनीहरुको बैँक खाता, कारोबार, आयात निर्यात रोक्का गरी कारर्वाहीको कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।

आन्तरिक राजस्व कार्यालय सिमराले सङ्कलन गर्ने कुल अन्त शुल्कको ८५ देखि ९० प्रतिशत हिस्सा चुरोट उत्पादन गर्ने कम्पनी सुर्य नेपालले बुझाउने गर्दछ । उसले उत्पादन गरेको चुरोटको बजारमा आएको बिक्रिमा कमीले गर्दा पनि अन्त शुल्क कम सङ्कलन भएको प्रमुख अधिकृत खतिवडाले जानकारी दिए । बाँकी ४ महिनामा अर्थतन्त्रमा सुधारमा आई तोकिएको लक्ष्य हासिल गर्न सक्ने बिश्वास उनले ब्यक्त गरे ।


सम्बन्धित समाचार