Logo

७ चैत, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको प्रत्याभूति नागरिकमा गराउने उदेश्यले नीतिगत निर्णय र निर्देशन गर्दै आएपनि कार्यान्वयन गर्ने निकायहरु भ्रष्ट्राचारमा लिप्त भएपछि सरकारले थालनी गरेको जनतामा आशा जगाउने अभियान तत्काल संभव नहुने देखिएको छ ।

आम नागरिक र सार्वजनिक सम्पत्तीको संरक्षण गर्ने दायित्व लिएको मालपोत कार्यालय पर्साका एकजना सुब्वा “साव”को भ्रष्ट आचरणका कारण सरकारले चालेको सुशासनको अभियानमा ठेस लाग्ने अवस्था सृजना भएको छ । सर्वसाधारण जनताको नियम पूर्वक गरिनु पर्ने काम समेत बर्षौ सम्म नगर्ने मालपोतका एकजना सुब्वा राजेश्वर साह तेलीको व्यवहारले सरकार कहाँ के गर्दै छ भन्ने प्रश्न खडा भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नंं ६ निवासी मुकेश सरावगी एउटा सामान्य कामको लागि मालपोत कार्यालय धाएको एक बर्ष भन्दा बढी भइसक्यो । दुई परिवार विच रहेको सयुक्त सम्पत्ती वाडफाँडमा कित्ताकाट गर्दा भएको गल्ती सच्चाउने उनको प्रयास अझै पुरा हुन सकेको छैन ।

नापीले सच्चाएर पठाएको नक्सा अनुसार अलग अलग भएका परिवारको नाउँमा लापूर्जा बनाउन सुब्बा “साव”ले रकम माग गरे । मैले कानून अनुसार नै हुने काममा के को घुस दिने ? सरावगीले प्रश्न गरे । सुब्बा “साव”ले त्यसो भए भोली आउनु भनेर उनलाई पठाई दिए ।

एक बर्ष देखि तीनै सुब्बा राजेश्वर साहतेलीले उनलाई भोली वा अर्को दिन आउनु भनेर काम रोकिदिएका छन् । मालपोतमा आउने कार्यालय प्रमुख समेत सुब्वाको अगाडी निरीह बन्ने गरेको सरावगीको बुझाई छ । तत्कालीन निमित्त मालपोत प्रमुख इजहार आलमले समेत सुब्वालाई उहाँको काम गरिदिन पटक पटक निर्देशन दिए, तर उनले कार्यालय प्रमुखको कुरै सुनेनन् । अहिले आएको हाकिमले समेत धेरै पटक उहाँको काम अगाडी बढाई दिनु भने तर सुब्वाले कुनै सुनुवाई गरेका छैनन् ।

मालपोतका कर्मचारीले गर्नुपर्ने नियमित प्रकृयाको काममा समेत दुख दिएर अनुचित लाभ लिन खोज्ने कर्मचारीका बारेमा तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु उमेश ढकाल र हिरालाल रेग्मीलाई समेत सरावगीले मौखिक उजुरी गरे । तर सिडिओको समेत केही चलेन । किनभने सुब्बा राजेश्वर साहतेलीले आफूलाई मालपोत कार्यालयको “डन” हो भनेर भन्ने गरेका छन् ।

मुकेश सरावगी त घटनाका एउटा पात्र मात्रै हुन । उनले दुख दिएका व्यक्तिहरुको विवरण धेरै छ । सुब्बा सावको आर्थिक मोहले नागरिकको सम्पत्ति संरक्षणमा उब्जीएको शंका र सार्वजनिक सम्पत्ति व्यक्तिमा नाममा राख्न उनले गरेका प्रयत्नका बारेमा रेसखवरले आगामी अंकहरुमा स्टोरी गर्ने नै छ ।

भूमि व्यवस्थापनका महानिर्देशक खनाल सुब्बाको खल्तीमा

पर्साको मालपोत कार्यालयमा रहेका सुब्बा राजेश्वर साहतेलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई समेत आफ्नो खल्तीमा राख्न सक्ने हैसियत बनाएका रहेछन् ।

भूमाफियासँगको मिलेमतोमा करोडौं राजश्व छली गरेका पर्सा मालपोतका तत्कालीन सुब्वा मदन प्रसाद गुप्तासँगको साझेदारीमा काम गर्दै आएका राजेश्व साहतेली भने राजनीतिक र प्रशासनिक पहँुचकै कारण अहिले सम्म कानूनको फन्दामा परेका छैनन् । तत्कालीन सुब्बा मदन गुप्ता भने मालपोत कार्यालयसँग सम्वन्धित दजर्नौ अपराधमा दोषी ठहर भएर अहिले कारागारमा छन् ।

मदन गुप्तासँगै जेल जानुपर्ने व्यक्ति अहिले पनि मालपोत कार्यालय पर्सामा “हालीमुहाली” चलाउदै आएका छन् । उनले मालपोत पर्सामा मुद्दा र प्रशासन फाँटको जिम्मेवारी हेर्दै आएका छन् । मदन गुप्ता र राजेश्वर साहतेलीको काम कार्वाही एउटै भएपनि साहले उन्मुक्ति पाएको बिषयलाई भने नागरिकले राम्रो मानेका छ्रैनन् ।

पर्सा जिल्लाका केही महत्वपूर्ण स्थानका र ग्रामिण क्षेत्रमा भएका विवादित जग्गा सम्वन्धि मुद्दाहरु मालपोत देखि सर्वोच्च अदालत सम्म चर्चामा छन् । सार्वजनिक, पर्ती, ऐलानी र गुठीका नाउँमा भएका जग्गाहरु मालपोत र नापीका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा गरिएको भन्दै अधिकांश मुद्दा जिल्ला देखि सर्वोच्च अदालत सम्म पुगेर मालपोतमा फर्किएका छन् ।

तीनै विवादीत जग्गासँग सरोकार राख्ने व्यक्तिबाट अनुचित लाभ लिदै आएका साहले वीरगञ्ज महानगरपालिकासँग सरोकार राख्ने सार्वजनिक सम्पत्तिका केही महत्पूर्ण फाइल समेत लुकाएर राखेका छन् । घडिअर्वामा रहेको गीता मन्दिर र रामजानकी मन्दिर नाउँको जग्गा मन्दिरको संरक्षक देखाई सार्वजनिक सम्पत्ति कब्जा गर्न खोज्ने भुमाफियासँग अनुचित लाभ लिएर अदालतको आदेशलाई समेत साहले कार्यान्वयन गरेका छैनन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अदालतको आदेश कार्यान्वनय गर्न मालपोत कार्यालय पर्साका प्रमुख र मुद्दा शाखा हेर्ने सुब्वालाई बोलाएर धेरै पटक सम्झाएका छन् । मेयर सिंहको आग्रहलाई समेत अटेर गरेर साहले फाइलनै लुकाएर राखेको बुझिएको छ । उनले गीतामन्दीरको जग्गा कब्जा गर्न खोज्ने माफियासँग मिलेर काम गर्दै आएको देखिन्छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनालले मालपोत कार्यालय पर्साका सुब्बाको बारेमा आफूले बुझ्ने बताए । मैले ती सुब्बालाई प्रत्यक्ष चिनेको पनि छैन, महानिर्देशक खनालले भने, जनताको गुनासो आउने गरी काम गरेको भए उनलाई कार्वाही हुन्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र सचिव गोकर्णमणी दुवाडीको निर्देशनमा सुब्वालाई कुनै कार्वाही नगर्नु भन्ने निर्देशन भएकोले आफूले तत्काल केह गर्न नसक्ने अवस्थामा रहेको खनाले बताए । मन्त्री नयाँ आउनु भएकोले रोक्नु भएको हुन सक्छ अहिले तत्काल त केही गर्न सक्न अवस्था देखिएन, उनले भने ।

पर्सा मालपोत प्रमुख डमरु निरौलाले आफू आएपछि मालपोतलाई सुधारको प्रयास गरेको तर जनशक्ति अभावले भने जस्तो काम गर्न नसकिएको बताए । उनले कर्मचारीको बिषयमा जनताले गरेका गुनासोहरुलाई आफूले सम्वोधनको प्रयास गरिरहेको बताए ।


सम्बन्धित समाचार