Logo

११ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्व लक्षित गरी विशेष सुरक्षा योजना तयारी पारेको छ । होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना तयार पारेको हो ।

भिडभाड हुने स्थानमा पर्याप्त जनशक्ति परिचालन हुने गरी सुरक्षा योजना बनाइएको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त सहकार्यमा प्रहरी परिचालन भएको प्रहरी बताउँछ ।
पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले आजैदेखि जिल्लामा सुरक्षा निगरानी कडा पारिएको जनाए । होलीमा हुन सक्ने आपराधिक गतिविधिलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित तरिकाले होली खेल्ने वातावरण मिलाउन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए ।

उनका अनुसार बढी भिडभाड हुने स्थानहरू, जिल्ला प्रवेश गर्ने नाकाहरु, मुख्य सडक तथा सहायक सडकहरु, चोक तथा गल्लीहरुमा व्यापक संख्यामा प्रहरी खटाइने रणनीति लिइएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीले सुरक्षा चुस्त बनाउनका लागि पैदल गस्ती, मोवाइल गस्ती, कर्डन, सादा पोशाक, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, ट्राफिक व्यवस्थापन लगायतका माध्यमद्वारा ८ सय ५० जना सुरक्षाकर्मीहरु परिचालित गर्ने डिएसपी थापा बताउँछन् ।

केके नगर्न प्रहरीले लगाएको छ रोक ?

यी कार्य गर्ने जो सुकैलाई पनि कारवाही गर्ने प्रहरीको चेतावनी छ ।
१. होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाऔँ ।
२. आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेलौं ।
३. होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगरौं, अपरिचित मानिसहरूको समुहमा होली नखेलौं ।
४. कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौं ।
५. महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं ।
६.अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखाऔं ।
७. ट्राफिक नियमको पुर्ण रूपले पालना गरौ, आफु बचौ र अरूलाई पनि बचाऔं ।
८. मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं ।
९. अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।
१०. रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
११. ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा डिजे को प्रयोग नगरौं ।
१२. भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट गर्ने जस्ता घटना बढी हुने हुँदा सावधान रहौं ।
१३.कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नं. १०० वा नजिकको प्रहरी कार्यालयहरूमा फोन गरौं ।
पर्सा प्रहरी सम्पर्क नं.;–
प्रहरी कन्ट्रोल–१००, ,९८५५०९०१३६, ट्राफिक कन्ट्रोल १०३


सम्बन्धित समाचार