Logo

२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैकले जारी गरेको कार्यविधिले नेपालमा सुनको अवैध कारोबारलाई बढवा दिएको तथ्य सार्वजनिक भएको छ । सुन आयातमा लगाएको कोटा प्रणाली र वितरणमा देखिएको सिन्डिकेटले सुन तस्करलाई फाइदा पुग्ने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ ले सुन खरिदमा सिन्डिकेट लगाउने कार्य नेपाल राष्ट्र बैकले गरेको देखिएको हो । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीको संलग्नतामा कार्यविधि बनाइएको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकको विदेशी विनिमय व्यवस्थापन विभागले २०७३ पुष २६ गते जारी गरेको सुचनामा सुन आयात विक्री वितरण कार्यविधि २०६८ को परिच्छेद ३ मा बुँदा नं. १४ थपगरी एउटा व्यवसायीले एक संघ वा महासंघबाट मात्र सुनको सिफारिस लिन पाउने छ भन्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा भएको उक्त व्यवस्थाले सुनको गहनाको व्यवसाय गर्ने व्यवसायीले संघ वा महासंघको सिफारिसमा मात्र बाणिज्य बैंकहरुबाट सुन खरिद गर्न सक्ने प्रावधान राखिएको छ । गत चैत २२ गते नेपाल रत्न तथा आभुषण संघले तीन वटा गहनाको कारोवार गर्ने कम्पनीलाई संघको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि सुनको कोटा प्रणालीको नाउँमा सिन्डिकेट रहेको देखिएको हो ।

नेपाल रत्न तथा आभुषण संघमा आवद्ध नरेन्द्र कुमार गुप्ता संचालक रहेका रिद्धिसिद्धि ज्वेलर्स प्रा.ली, रिद्धिसिद्धि ज्वेलरी हाउस र ब्लु हर्सन ज्वेलर्स प्रा.लीलाई संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । रत्न तथा आभुषण संघमा आवद्ध रहेका तीनवटा कम्पनीलाई संघको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि काँचो सुन खरिदको सिफारिस लिन नपाउँने गरी बन्चित गरिएकोछ ।

नेपालको संविधानको भाग ३ को दफा १७ मा स्वतन्त्रताको हक अन्तरगत उपदफा (च) मा नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । संविधानमा व्यवस्था गरिएको स्वातन्त्रताको हक विरुद्ध हुनेगरी गुप्ताले संचालन गरेका तीनवटा कम्पनीलाई कारोवार गर्न नपाउँने गरी गरिएको कार्वाही संविधानको मूलमर्म विपरित रहेको देखिन्छ ।

गुप्ताका तीनवटा कम्पनीलाई गरिएको कार्वाहीले नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीले नै सिन्डिकेटमा सुनको कोटा प्रणाली चलाउने गरेको देखिएको हो ।

नेपाल रत्न तथा आभुषण संघका एक पदाधिकारीले सुनको कोटा प्रणालीको नाममा केही पदाधिकारीले सिन्डिकेट चलाएको आरोप लगाउदै आएका छन् । कोटा प्रणालीको नाममा संघ र महासंघमा भएका पदाधिकारीले कोटाको सुन दुरुपयोग गर्दै भारत तर्फ तस्करी गर्दैं आएको भनाई ती पदाधिकारीकाे छ ।

सुनको सिन्डिकेटका आरोपी

सुनमा कोटा प्रणाली र सुनको सिन्डिकेटमा केही पदाधिकारीले फाइदा लिदै आएको बिषय उठाएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघको चैत २३ र २४ गते हुने भनिएको अधिवेशन स्थगित भएको छ । महासंघका अध्यक्ष मणिक रत्न शाक्य र उपाध्यक्ष पवन कुमार सोमानीले सुनमा अवैध रुपमा कोटा दुरुपयोग गरेको आरोप देशभरबाट आएका व्यवसायीहरुले लगाएका छन् ।

सुनको कोटा हत्याउन आफ्नो अनुकुलको नेतृत्व चाहिने भन्दै अध्यक्ष माणिक रत्न शाक्य र उपाध्यक्ष पवन कुमार सोमानीले प्रतिनिधि छनौटमा विवाद देखिएको भन्दै अधिवेशन स्थगित गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर अधिवेशन स्थगनको पत्र लिएका थिए ।

सुनचाँदी व्यवसायी महासंघमा पवन कुमार सोमानी र मणिक रत्न शाक्यले विभिन्न बाणिज्य बैंकमा भएको सुन कब्जा गर्नेगरेको आरोप लाग्ने गरेको छ । बैंकमा स्टक रहेको सुन जेजे ज्वेलर्स कम्पनी लगायत अन्य कम्पनीको नाउँमा पवन कुमार सोमानीले उठाउने गरेको आरोप व्यवसायीहरुको छ । १५ दिन भित्र नउठाइएको सुन बैंकले जसलाई पनि विक्रि गर्न पाउँने व्यवस्था कार्यविधिमा भएकोले सुन लिएको भनाई पवन कुमार सोमानीको छ ।

त्यसैगरी नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष निर्मलज्योति तुलाधर र पवन कुमार अग्रवाल (धरानीया)ले बैंकमा रहेको सुन कब्जा गर्नेगरेको आरोप व्यवसायीहरुको छ । निर्मलज्योति तुलाधरको बयिलन, रेम्बो र गोल्ड स्पट नामका कम्पनी छन् । उनले देशका विभिन्न प्रमुख शहरमा कम्पनीको शाखा खोलेर साना तथा खुद्रा व्यवसायीले पाउँने सुन फर्जी कम्पनीको नाममा विल काटेर काठमाडौंमा विक्रि गर्ने गरेको आरोप अन्य व्यवसायीहरुको छ ।

न्यूरोडमा जयमाता दी गोल्ड प्यालेस संचालन गरेका पवन कुमार अग्रवाल(धरानीया)ले पनि विभिन्न बाणिज्य बैंकका टेजरी हेडसँगको मिलेमतोमा सुन खरिद गर्दै आएका छन् । केही दिन अघि १ सय १७ केजी सुन बैंकमा रहेको समाचार बाहिर आएको थियो । तर व्यवसायीले खरिद गर्न जाँदा ती बंैकहरुले सुन विक्री भइसकेको बताउने गरेको नेग्जाका एक सदस्यले बताए  ।

सुन भएको बैंकमा बुझ्न खोज्दा सुन निर्मलज्योति तुलाधरले बुक गरेको भन्दै बैकले नदिएको एकजना व्यवसायीकले बताए । सुन सिफारिसका लागि खोलिएका संघ र महासंघका केही पदाधिकारीको कब्जामा सुन रहनेगरी नेपाल राष्ट्र बैंकले जारी गरेको सुन विक्रिवितरण सम्वन्धि कार्यविधि २०६८ साना व्यवसायीहरुको हितमा नरहेको व्यवसायीहरुकाे भनाई छ । यो कोटा प्रणाली खारेज हुनु पर्छ अन्यथा सिन्डिकेटको मारमा साना व्यवसाय पर्दै आएका छन् ।


सम्बन्धित समाचार