Logo

४ वैशाख, जनकपुरधाम । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घण्टापछि सुरु हुँदा हानाहान र कुर्सी तोडफोड भएको हो ।

सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनह अवरोध सृजना गरेको थियो । उठाएको माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रोपटक सदन अवरोध गरेपछि विवाद भएको हो ।

जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले जनाए ।

उनले भने,‘४ घण्टा पछाडि सदन सुरु भयो, तर जनमतको माग सम्बोधन नभएपछि ऊसले फेरि सदनमा विरोध गर्न थाल्यो ।यहीबीच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेश गर्न खोजे । त्यसपछि जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो । यही बेला तानातान मात्रै होइन, हातपातसमेत भयो ।’

उनका अनुसार सदनभित्र विवाद उग्ररुप लिदा केही थान कुर्सीसमेत तोडफोड भएको छ । दोस्रोपटक विवाद भएपछि पुनः मधेश प्रदेशसभा १० मिनेटको लागि स्थगित गरिएको प्रदेशसभामुख रामचन्द्र मण्डलले सूचना जारी गरेका छन् ।

विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानविन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेका थिए ।

माग पूरा गर्न मुख्यमन्त्री तयार रहेकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । त्यसपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ ।


सम्बन्धित समाचार