Logo

१३ बैशाख, वीरगञ्ज । मालपोत कार्यालय पर्सामा रहेका स्रेस्ता र मोठको रेकर्ड नष्ट गर्ने कर्मचारीलाई कार्वाहीबाट बचाउन मन्त्रालयका सचिव र महानिर्देशक लागिपरेको रहस्य सार्वजनिक भएको छ ।

व्यक्तिगत र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण गर्ने अड्डाको रुपमा रहेको मालपोत कार्यालय पर्सामा भु माफियाको मिलेमतोमा त्यहाँ कार्यरत कर्मचारीले स्रेस्ता र सम्पत्तिको मूल हिसाव लेखिएका कागज (मोठ) कार्यालयको रेकर्डबाट गायव गरेको प्रमाण सार्वजनिक हुदा समेत मन्त्रालयले दोषी कर्मचारीलाई कुनै कार्वाही गरेको छैन ।

पर्साको जगरनाथपुर गाउपालिका वडा नंं २ का झगरु मियाँ धोवीको २८ कठ्ठा जग्गा अर्कै व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास गर्ने मालपोत कार्यालय पर्साका नायब सुब्बा राजेश्वर प्रसाद साहतेलीलाई मन्त्रालयका उच्च तहका कर्मचारीले जोगाउन खोजेको आरोप स्थानीयवासीले लगाएका छन् ।

विगत ६० बर्षदेखि सम्पतीको हकभोग गर्दै आएका पर्सा जगरनाथपुर गाउँपालिका वडा नंं. २ का झगरुमियाँ धोविलाई मालपोतका कार्मचारी नायब सुब्वा राजेश्व प्रसाद साह तेलीले सुकुम्बासी बनाइदिएका हुन । धोविको २८ कठ्ठा जग्गा अर्कैको नाउँमा पास गरिदिएपछि उनी न्यायका लागि स्थानीय प्रशासन देखि मन्त्रालय पुगी सकेका छन् ।

२०२१ मा भएको नापी नक्सामा उक्त जग्गा धोवीका हजुरबुवा दिलशेर मियाँ धोविको नाउँमा कायम भएको थियो । धोविको २०२७ सालमा मृत्यु भएपछि उनका नाती झगरुमियाँ धोविले हकभोग गर्दै आएका थिए । उनले लालपूर्जा पाएदेखिनै उक्त जग्गाको तिरो तिर्दै आएका छन् ।

झगरुले आफ्नो नाउँमा भएको २८ कठ्ठा जग्गाको सक्कल लालपूर्जा र २०२१ साल देखि हाल सम्मको मालपोत तथा तिरो तिरेको सक्कल रसिद बोकेर राज्यका निकायमा न्याय माग्दै हिडेका छन् । उनको सम्पत्ति हरण गर्ने मुख्य योजनाकार मालापोत कार्यालय पर्साका नासु राजेश्वर साहतेली भने निर्धक्क बसेका छन् । उनले स्रेस्ताको रेकर्ड च्यातिएकोले लिखतको आधारमा आफूले रजिष्ट्रेशन पासको निर्णय गरेको बताउदै हिडेका छन् ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नंं. ३२ मा कित्ता नं १, ५, ७, २३, २४, २५ ४८, ५० र ७१ को करिव २ बिगाहा सरकारी सार्वजनिक जग्गा भूमाफियाको मिलेमतोमा मालपोतका कर्मचारीले चौधरी ग्रुपको सिजी लजिस्टिक पार्क कम्पनी वीरगञ्ज मूर्लीको नाउँमा रजिष्ट्रेशन पास गरेका छन् । उक्त कार्यमा मालपोतका पूर्व कर्मचारी मदन गुप्ता र मुद्दा फाँटका प्रमुख राजेश्वर प्रसाद साहतेलीको मुख्य संलग्नता रहेको देखिन्छ । गुप्ता भ्रष्टाचार मुद्दामा जेल सजाय भोग्दै आएका छन् ।

वीरगञ्ज वडा नं. ३२ बस्ने रामआशिष पासवानले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पास गर्ने मालपोत कार्यालय पर्साका कर्मचारी र भूमाफियालाई कार्वाहीको माग राख्दै गत चैत २८ गते निवेदन दर्ता गराएका थिए ।

उनले नेपालको संविधानको धारा ४८ को नागरिक कर्तव्य (छ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अवस्था बमोजिम उजुरी गर्ने कानूनी हकदैया रहेको भन्दै सरकारी सार्वजनिक सम्पत्ति कब्जा गर्ने व्यक्ति र कम्पनीलाई कानून अनुसार कार्वाहीको माग गरेका छन् ।

सिजी कम्पनीका प्रतिनिधिले उक्त जग्गा आफूले बैधानिक रुपमा खरिद गरेको दावी गरेपछि मालपोत कार्यालय पर्सामा बुझ्दा कम्पनीले दावी गरेका कित्ता नम्वरहरु पर्सा जग्गा मोठ ठेली नं. ४३ पाना नम्वर ६६२१ मा जग्गा धनी सकल फिल्डबुकमा जग्गाधनी मोही महल खालि रहेको देखिन्छ, उजुरीकर्ता पासवानले भने ।

मसानघाटको रुपमा प्रयोग हुर्दै आएको उक्त सरकारी सार्वजनिक जग्गालाई चोर्नी गाविसका पूर्व अध्यक्ष रामवालक धानुक महतोले मालपोत कार्यालय पर्साका तत्कालीन सुब्बा मदन गुप्ता र हाल मुद्दा शाखामा कार्यरत राजेश्वर साहतेलीसँगको मिलेमतोमा आफ्नो नाउँमा पास गरेका थिए ।

उजुरीकर्ता पासवानका अनुसार उक्त कित्ता नम्वर भएको जग्गा २०२१ सालको नक्सामा सरकारी, सार्वजनिक, पर्ती भनेर उल्लेख गरिएको छ । पूर्व गाविस अध्यक्ष धानुकले आफ्नो नाउँमा रहेको उक्त जग्गा आफ्ना भाई उमा महतो धानुकको नाउँमा नामसारी गराई मिति २०७९ भदौ ३१ गते सिजी लजिष्टिक पार्क कम्पनीको नाममा रजिष्ट्रेशन पास गराएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले बैशाख २ गते भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र लेखि उजुरीका सन्दर्भमा छानवीनगरी सरकारी सार्वजनिक जग्गा व्यक्ति वा निजी कम्पनीको नाउँमा दर्ता हुन गएको भए प्रचलित कानून बमोजिम दर्ता वदर गरी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले दिएको निर्देशनलाई मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक बिदुर प्रसाद खनालले कार्यान्वयन नगर्दा दोषी कर्मचारीलाई उम्काउन खोजेको देखिन्छ ।

विगत ७ बर्ष देखि मालपोत कार्यालय पर्साको मुद्दा र प्रशासन शाखाको जिम्मेवारीमा रहेका राजेश्वर साहले मालपोतमा दैनिक ज्यालादारी र स्वंयमसेवी रुपमा २५ जना व्यक्तिलाई नियुक्ति दिएका छन् । त्यसमा उनका भान्जा देखि नजिकका नातेदारहरु समेत रहेका छन् ।

व्यक्तिका सम्पत्तिको संरक्षण गर्ने निकायको रुपमा रहेको सरकारी अड्डाका कर्मचारीले स्रेस्ता र मोठको रेकर्ड च्यात्ने र एउटा व्यक्तिको सम्पत्ति अर्कैको नाउँमा पास गरिदिने दजर्नौ घटना पर्सा मालपोतमा हुने गरेका छन् । त्यस कार्यमा लाग्ने एकजना सुब्बा मदन गुप्ता अहिले वीरगञ्ज कारागारमा जेल सजाय भोग्दै छन भने अर्का नासु राजेश्वर प्रसाद साहतेली पैसाको बलमा कानूनी कार्वाहीबाट उन्मुक्ती पाउदै आएका छन् ।

अन्यामा परेका व्यक्तिहरुलाई सुब्बा साहले विभागको डिजी देखि मन्त्रालयको सचिवसम्मलाई सेटिङ मिलाएकोले कसैले केही बिगार्न नसक्ने बताउने गरेका छन् । उनी बिरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा समेत दर्जनौ उजुरी परेका छन् ।

जगरनाथपुरका झगरु मियाँ धोवीले मालपोतका भ्रष्ट कर्मचारीलाई मन्त्रालयका सचिव र विभागका महानिर्देशककै संरक्षण रहेकोले भूई मान्छेले न्याय पाउने अवस्था नदेखिएको गुनासो गरे । व्यक्तिको सम्पत्ति अर्काको नाउँमा पास गर्ने पर्सा मालपोतका सुब्बा राजेश्वर साहलाई कार्वाही नगरे आन्दोलनमा उत्रने धोवीको भनाई थियो ।


सम्बन्धित समाचार