Logo

१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउगरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ ।

वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको भारतीय नम्वरको मोटरसाइकलमा सवार भारत रक्सौल स्थायी घरभएका एक भारतीय नागरिकको साथबाट ३ लाख ३६ हजार नेपाली रुपियाँ फेला परेको सशस्त्र प्रहरी बल १३ र्न. गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिहंले बताए ।

सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहका अनुसार पक्राउ परेका भारतीय नागरिक, उनको साथमा फेला परेको ३ लाख ३६ हजार नगद र उनले प्रयोग गरेको अन्दाजी २ लाख मूल्यको भारतीय नम्वरको मोटरसाइकल थप अनुसन्धानको लागि वीरगञ्ज भंसार बुझाइएको छ ।

नेपालको प्रचलित कानूनले स्रोत नखुलेको रकम बोकेर सिमावर्ती क्षेत्रमा ओसार पोसार गर्न नपाउने व्यवस्था गरेको छ । भारत रक्सौल निवासी अफ्रोज अहमदलाई स्रोत नखुलेको रकम सहित सोमबार सशस्त्र प्रहरीको टोलीले भंसार कार्यालयमा बुझाएको वीरगञ्ज भंसार कार्यालयले जनाएको छ ।

भंसारको नियन्त्रणमा रहेका अहमदले उक्त रकम व्यापारीक प्रयोजनको लागि लिएर रक्सौल तर्फ जादै गरेको अवस्थामा आफू पक्राउ परेको भंसार अधिकारीलाई बताएको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार