Logo

१८ बैशाख, वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताएका छन् । प्रेस चौतारी पर्साद्वारा आज बीरगन्जमा आयोजीत पत्रकार सम्मेलन बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । उनले भने,‘यसअघिको गठबन्धन हामीले तोडेका हौं, योजना बनाएर फुटाएका हौं । त्यो गठबन्धनबाट देश पछाडि धकेलिरहेको थियो, अनुचित गठबन्धन थियो । त्यसकारण हामीले फटाएका चाहि हौं ।’

तर सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरु एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरु एक ठाउँमा उभिन जरुरी रहेको उनको भनाइ छ ।

यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने उनी बताउँछन् । उनका अनुसार एमालेले नेतृत्व गरेमा धेरै विषयामा मुलुकले गति पाउनेछ । किनभने एमालेले त्यहीँ अनुसार रणनीति बनाएर सरकार चलाउने गरेको उनको भनाइ छ ।

उनी भन्छन्,‘ हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरुलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।’ कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सकिन्छ, त्यो एमालेले जान्दछ,’ उनले भने ।

उनका अनुसार एमाले यी विषयहरुमा नीतिगतरुपमा प्रष्ट र योजनागतरुपमा प्रतिबद्ध छ । अर्को कुरा जनताले पनि एमालेप्रति विश्वास गरिरहेको हुनाले मुलुक निर्माणका लागि एमालेको नेतृत्वको अपरिहार्य रहेको उनको धारणा छ ।

त्यसैले जनताको विश्वास जितेर हामीले मुलुकको सही ढंगले नेतृत्व गर्न चाहिरहेको उनको प्रष्टोक्ति छ । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले सरकार परिवर्तनको विषय आइ नपरेको उनले जनाए ।

एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ । उनका अनुसार तर यसो भनिरहँदा त्यसको अर्थ यो होइन कि कुनै एक पार्टीले अलग्याएर हमला गर्नु होइन ।

उनी भन्छन्,‘देशका मेजर पार्टीहरुबीच एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । यो अन्डरस्टाडिन्ङ् गराउनमा हाम्रो भूमिका र पहल दुइवटै हुनु पर्छ । ताकी देश समृद्धि अगाडि बढोस ।’

गृहमन्त्री रवी लामिछानेको विवाद बारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ म मात्रै होइन हाम्रो पाटीले यदि ऊ दोषी छ भने त्यसको सत्यतथ्य अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भनिरहेकै छ, त्यसमा हाम्रो कुनै रोकावट हुँदैन् । तर छानविन समिति अहिलेको आवश्यकता हो या होइन बुझ्न जरुरी छ, त्यही आधारलाई मूल्यांकलन गरेर हामी आफ्नो धारणा पनि दिइरहेका छौं ।’

पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार