Logo

२० वैशाख,वीरगञ्ज । अर्थतन्त्र लयमा ल्याउन सरकारले गरेको आयात प्रतिबन्ध अवैध धन्दा गर्नेहरुका लागि भने कमाउने बाटो बनेको छ ।सरकारको अर्बौको राजस्व गुम्दा अर्थतन्त्र झन संकुचित बन्दै गएको छ । आयात प्रतिबन्ध हुँदा नेपाली व्यावसायीहरुको व्यावसायमा नराम्रो धक्का लागेको मात्रै छैन ।

राज्यले पाउने राजस्व पनि गुमाएको छ । सरकारले आयातमा लगाएका प्रतिबन्धित वस्तुहरु नेपाली बजारमा छ्याप्छ्याप्ती पाउने गरेका छन् । सरकारले अहिले केही वस्तुहरु आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । केहीलाई भन्सार महशुल बढाएको छ ।

तर, पनि आयातमा प्रतिबन्धित वस्तुहरु नेपाली उपभोत्ताहरुले सहजै पाउने गरेका छन् । सरकारले केराउ, छोकडा, पोस्ता दाना, सुपारी, कालो मरिच र सेतो मरिच आयातमा प्रतिबन्ध लगाएको छ । केराउमा ३० प्रतिशत भन्सार महशुल लिने गरेको छ । भने, चकलेटमा १० प्रतिशत भन्सार महशुल लिने गरेको छ ।

आयातमा प्रतिबन्ध लगाएको सामान सेटिङमा अर्कै वस्तु उल्लेख गरेर ल्याई वीरगंज सुक्खा बन्दरगाह भन्सारमा अलपत्र छोडिएका पोस्ता दाना र सुपारी सुक्खा बन्दरगाह भन्सार कार्यालयले लिलामीका लागि सूचना निकालेको छ ।
करिव ४७ करोड मूल्य बराबरको पोस्ता दाना र सुपारी लिलामको लागि पुन सूचना निकालेको छ । १३ वटा कन्टेनरमा अलपत्र रहेको सामानहरुको दावी गर्न कोहीपनि आयातकर्ताहरु नाएपछि सुक्दा बन्दरगाह भन्सार कार्यालयले लिलामी प्रकृया अगाडि बढाएको थियो ।

तर, चौथो पटक सम्म सूचना जारी गरिएको लिलाममा कुनै फर्म वा व्यक्तिले रुचि नदेखाएपछि तोकिएको मालबस्तुको पुनःमूल्यांकन गरेर पाचौ पटक सूचना प्रकाशन गरेको छ । सरकारले आयात प्रतिबन्ध लगाएका वस्तुहरु भन्सार कर्मचारीहरुकै मिलेमतो र सेटिङमा सुक्खा बन्दरगाहबाटै पनि आउने गरेको यसले पुष्टि गरेको छ ।

अर्कोतर्फ वैधानिक रुपमा आउन नदिईने वस्तुहरु राज्यको आँगनमै छ्याप्छ्याप्ती पाईनुले नेपालमा अवैध व्यापार फस्टाएको छ । पछिल्लो समयमा वीरगन्ज नाकाबाट काजु कम आएको छ । तर, काजु बजारमा खुलेयाम पाईने गरेको छ ।
काजुमा भन्सार महशुल बढाई दिएपछि व्यापारीले आयात गरेको काजु पनि बीचबाटोबाटै फर्काएका छन् । तर, अवैध मार्गबाट आउने काजु नेपाली बजारमा छाएको छ ।

आयातकर्ताहरुका अनुसार नेपालमा वैधानिक बाटोबाट आयात गर्दा काजुको मूल्य १२०० रुपैया प्रतिकेजी पर्न जान्छ । अहिले नेपालमा ८०० रुपैंया प्रतिकेजी काजु पाउने गरेको व्यावसायीहरुको भनाई छ । वीरगञ्ज स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९ असार देखि २०८० असार सम्ममा लागत मूल्य, वीमा र भाडा गरी ३४ करोड २३ लाख ६१ हजार ८३४ मूल्यको चार लाख २२ हजार ५३३.५९ केजी खोल विना ताजा, सुकेको काजु आएको छ ।

त्यस्तै खोल सहितको ताजा, सुकेको काजु १ लाख १० हजार ८०० केजी ११ करोड ७१ लाख ८० हजार २५८ मूल्यको आएको छ । आर्थिक बर्ष २०८० साउनदेखि यता भने खोल विना ताजा, सुकेको काजु मात्रै १३ लाख ३५ हजार ५०४.३० केजी काजु आएको ड्राईपोर्ट भन्सारको तथ्यांक छ ।

यसको लागत, वीमा र भाडा सहित १० करोड ५२ लाख ८ हजार दुईसय दुई रुपैंया १७ पैसा र काजुको मूल्य ५ करोड ५१ लख ८१ ह्जार ५७६ रुपैंया मात्रै रहेको छ । वीरगञ्जको ड्राईपोर्ट भन्सार नाकाबाट मात्रै होईन देशको अन्य नाकाबाट पनि काजु आयात हुने भएकोले समग्र देशभरको आयातको तथ्यांक र बजारको मागको अवस्था पनि हेरेर विश्लेषण गर्नुपर्ने सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशिल शर्माले बताए ।


सम्बन्धित समाचार