Logo

२१ वैशाख,काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक थिंक ट्याङ्कको सुरक्षा मूल्याङ्कन प्रतिवेदनले मार्चमा केही समयको विश्रामपछि अप्रिलमा फेरि एकपटक पाकिस्तानमा आतंकवादी हमला बढेको जनाएको छ ।

गत महिना देशभित्र ७७ वटा आक्रमण भएका थिए । डन न्युजको रिपोर्टका अनुसार पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) ले एउटा रिपोर्टमा खैबर पख्तुनख्वाले विशेष गरी यी आक्रमणको मार भोगेको बताएको छ। उक्त क्षेत्रमा ३५ नागरिक र ३१ सुरक्षा बलका सदस्यसहित ७० जना मारिएका छन् ।

प्रतिवेदनमा भनिएको छ – आक्रमणमा चार आतंकवादी मारिएका छन् र ३२ नागरिक र ३५ सुरक्षाकर्मी घाइते भएका छन्। यसको तुलनामा मार्च महिनामा ५६ वटा आतंकवादी हमला भएका थिए जसमा ७७ जनाको मृत्यु र ६७ जना घाइते भएका थिए।

यी तथ्याङ्कले देशमा आतंकवादी हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको देखाउँछ। यद्यपि मृत्युमा नौ प्रतिशतले कमी आएको छ र घाइतेको संख्यामा कुनै परिवर्तन आएको छैन। सुरक्षा प्रतिवेदनले गत महिनामा धेरै सम्भावित आक्रमणहरूलाई विफल पार्न देशको सुरक्षा बलहरूले गरेको प्रयासलाई पनि उल्लेख गरेको छ।

कम्तिमा ५५ संदिग्ध आतंककारी मारिएका र आत्मघाती हमलामा संलग्न लगायत १२ जनालाई पक्राउ गरिएको प्रतिवेदनले जनाएको छ। योसँगै मार्चको तुलनामा आतंकवादी मृत्युमा ५५ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिवेदनमा थप भनिएको छ – अप्रिलमा रेकर्ड गरिएका कुल आतंकवादी हमलामध्ये ७३ प्रतिशत खैबर पख्तुनख्वामा भएको थियो, जसमा प्रान्तका आदिवासी जिल्लाहरू पनि थिए। गत महिना प्रान्तमा ५६ वटा आक्रमण भएका थिए । आक्रमणमा ४३ जनाको मृत्यु भएको थियो । जसमा सुरक्षा बलका २६ सदस्य र १७ जना सर्वसाधारण थिए।

रिपोर्टका अनुसार बलुचिस्तानमा १६ वटा आक्रमण भएको बताइएको छ । उक्त क्षेत्रमा १७ सर्वसाधारण र चार सुरक्षाकर्मीसहित २१ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए । तीमध्ये अधिकांश आक्रमण प्रान्तको बलुच बेल्टमा भएका थिए। खुजदारमा तीन, केच, कोहलु र क्वेटामा दुई र चमन, डेरा बुग्ती, दुकी, कलात, खरान, मस्तुङ र नुस्कीमा एक–एक आक्रमण भएको बताइएको छ ।

पञ्जाबमा पनि आतंकवादी गतिविधि बढेको देखिएको छ । मार्चमा भएको एउटा आक्रमणको तुलनामा अप्रिलमा चार वटा आक्रमण भएको थियो भने यस अवधिमा तीन जनाको मृत्यु भएको थियो। सिन्धमा एक आक्रमण र तीन जनाको मृत्यु भएको खबर छ। प्रतिवेदनका अनुसार यस वर्षको पहिलो चार महिनामा देशभित्र ३२३ आतंकवादी हमला भएका छन्, जसमा ३२४ जनाको मृत्यु भएको छ भने ३८७ जना घाइते भएका छन् ।

 


सम्बन्धित समाचार