Logo

२५ वैशाख,काठमाडौं । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली रक्षा बल अर्थात आइडीएफले रफाहमा हमास विरुद्ध ‘लक्षित आक्रमण’ गरिरहेको बताएको छ।

रफाहमा ठूलो संख्यामा बसोबास गर्ने शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ। इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।

एकातिर रफाहमा हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ । इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ।

हमासले स्वीकार गरेको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरेका थिए । यद्यपी यस युद्धविराम प्रस्तावका शर्तहरूबारे कुनै जानकारी आएको छैन। यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको सरकार र हमासलाई सम्झौतामा सहमत हुन “अतिरिक्त प्रयास” गर्न आग्रह गरेका छन्। गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै रफाहमा ठूलो मात्रामा कारबाहीका संकेतहरू चिन्ताजनक रहेको बताएका छन्।

 


सम्बन्धित समाचार