Logo

१२, मंसिर, वीरगञ्ज । समानुपातिकतर्फ ९१ लाख ८९ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ३० हजार २१६, कांग्रेसको २३ लाख ९६ हजार ९३, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६२ हजार ९८० र माओवादी केन्द्रको १० लाख ६१ हजार २ सय मत छ ।

हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ । त्यस्तै राप्रपाको ५ लाख ४७ हजार १८८, जसपाको ३ लाख २४ हजार ३१०, जनमत पार्टीको २ लाख ६१ हजार र एकीकृत समाजवादीको २ लाख ५१ हजार मत आएको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ ।

मत कति बदर भयो भन्ने यकिन भैसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ । प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तिमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तिमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ ।

तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ । अब झण्डै १८ लाख मत गन्न बाँकी छ ।


सम्बन्धित समाचार