Logo

वीरगन्ज, १७ मंसिर । मधेस प्रदेश मिडिया कान्सिलका अध्यक्ष शिवहरी भट्टराईको शनिवार निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औं साधारणसभाका लागि सर्लाहीमा रहनुभएका भट्टराई लालबन्दी स्थित पथ्थरकोटमा रहेको होलिडे रिसोर्टको एउटा कोठामा आज विहान मृत अवस्थामा भेटिएका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेका अनुसार पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भेला भएका सबै पत्रकारहरुसँग रमाईलो गरेपछि अबेर राति कोठामा सुत्न गएका भट्टराई बिहान ढिलोसम्म नउठेपछि रुममा भित्रबाट बन्द रहेको कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।

वेडबाट खुट्टा तल झारेको, शरीर बेडमै भएको र दायाँबायाँ औषधिहरु छरिएको अवस्थामा उनी मृत भेटिएका हुन । प्रहरीले घटनास्थलको मुचुल्का तयारपारि उनको शवलाई जनकपुर अस्पतालमा राखिएको छ । उनका परिवारजन आएपछि शवको पोष्टमार्टम गर्ने की लैजाने भन्ने निर्णय हुने महासंघका केन्द्रीय सदस्य लामिछानेले जानकारी दिए ।

सप्तरी जिल्लाको राजविराजलाई कर्मथलो बनाएर विगत चार दशक देखि पत्रकारिता पेशामा आवद्ध रहनु भएका पत्रकार भट्टाराई विगत लामोसमय देखि सुगर र प्रेसरको औषधी सेवन गर्दै आएका थिए ।

सर्लाहीको लालबन्दी स्थित पथ्थरकोटमा रहेको होटल होलिडे रिसोर्टमा आयोजना गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन पत्रकारहरु सर्लाहीमा भेला भएका छन् । भट्टराईको निधनले साधारणसभा पनि स्थगित भएको छ ।


सम्बन्धित समाचार