Logo

१५ जेठ, काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो ।

सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा आएको प्रहरीले सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरी धनुषा पुर्याएको थियो ।

अर्को दिन बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तोकिएको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको म्याद दिएको थियो ।

सिरोहियामाथि अनुसन्धानका लागि आज फेरि थप तीनको म्याद थपिएको हो ।


सम्बन्धित समाचार