Logo

२१ जेठ, वीरगञ्ज । पर्सा जिल्लामा दोस्रो चरणको राष्ट्रिय पोलियो रोगविरुद्धको आइपीभी खोप लगाउन सुरु भएको छ । हिजोदेखि जिल्लाका ७ पालिकाका बालबालिकालाई खोप लगाउन सुरु भएको हो ।

जेठ १३–१६ गतेसम्म पहिलो चरणको राष्ट्रिय खोप अभियान सम्पन्न भएलगत्तै दोस्रो चरणको पोलियो खोप अभियान हिजोदेखि शुरू भएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ । दोस्रो चरण अन्र्तगत १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाइनेछ ।

यो चरणमा वीरगञ्ज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका, गरी ७ पालिकाका बालबालिकालाई यो खोप लगाउने स्वास्थ्य कार्यालय पर्सा बताउँछ ।

कार्यालयका अनुसार दोस्रो चरणमा वीरगञ्ज महानगरपालिकाका १७ देखि ३२ नम्बर वडासम्मका ६ हजार ८५८, पटेर्वासुगौली १ हजार २६८, सखुवाप्रसौनी २ हजार, जिराभवानी ९२०, जगरनाथपुर १ हजार ४६५, पोखरीया १ हजार ९३३ र पर्सागढी २ हजार १८५ गरी जम्मा १६ हजार ६२८ जना बालबालिकालाई आइपीभी खोप लगाइने तयारी छ ।

सरकारको यस अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउदैछ । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई खोप लगाउन सम्बन्धित पालिकाका प्रमुखहरुले अनुरोध समेत गरेका छन् ।


सम्बन्धित समाचार