Logo

२२ जेठ, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मेयर महर्जन सहित उपमेयर मुना अधिकारी, प्रशासकीय अधिकृत, कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन, उपमेयर, प्रशासकीय अधिकृत र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।

कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ।

अख्तियारले उनीहरूसँग राज्यलाई नोक्सान भएको रकम बराबरको बिगो, बिगोको दोब्बर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार हदसम्मको कैद जरिवाना हुनुपर्ने माग गरेको छ ।

अघिल्लो पटक निर्वाचित भएका नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालमा निर्वाचित भएपछि यो घोटालाबारे अख्तियार अनुसन्धान थालेको थियो । उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालमा पनि निर्वाचित भएका उनीहरू सोमबारबाटै निलम्बनमा परेका छन् । भ्रष्टाचार मुद्दा चलेपछि पदबाट निलम्बित भएका हुन् । मेयर र उपमेयर दुवै नभएपछि यस रिक्ततामा अब नगरपालिका कसरी चल्छ भन्ने अर्को प्रश्न उब्जिएको छ ।


सम्बन्धित समाचार