Logo

२२ जेठ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट एकैपटक हटाइएका ४७ जना कर्मचारीहरुको पक्षमा नारायणी अस्पताल बिकास समितिले विज्ञप्ति निकालेको छ ।

निमित्त मेडिकल सुपरिटेन्डण्ट (मेसु) डा. मोहम्मद एनामुल हकले सेवा अवधि समाप्त भएको भन्दै गलत मनसायले कर्मचारी हटाएको भन्दै अस्पताल विकास समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

मंगलबार अस्पताल विकास समितिका अध्यक्षसहितको सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन । यही सोमबार मेसु डा. एनामुल हकले सेवा अवधि समाप्त भएको भन्दै एकैपटक ४७ जना कर्मचारीहरुलाई हटाएका थिए ।
बिना दरबन्दी अस्पतालमा नियुक्त भइ दैनिक ज्यालादारीमा कार्य गरिरहेका भन्दै आजदेखि लागु हुने गरी उनीहरुलाई सेवाबाट बरखास्त गरिएको थियो ।

विज्ञप्तीमा भनिएको छ– ‘यस अस्पतालमा सेवाग्राहीको चापँलाई मध्यनजर राखी सेवा विस्तार भइ सोही बमोजिम बिकास समितिको निर्णय अनुसार आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गरिएकोमा ज्येष्ठ २१ गते निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट लगायतका कर्मचारीहरुको मिलेमतोमा पूर्वाग्रह राखी स्वेक्षाकारी मनोमानी तरिकाले केहि अस्पतालका कर्मचारीहरुको सेवा अवधि समाप्त गरिएको सम्बन्धमा अस्पताल बिकास समितिसँग कुनै किसिमको समन्वय नगरी आफू खुसी सूचना प्रकाशन गरिएकोप्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।’

अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकका अनुसार, अस्पतालबाट हटाइएकोमा आठौं तहका मेडिकल अधिकृत चिकित्सक, सातौं तहका मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, अहेब, कार्यालय सहयोगी, फार्मेसी सहायक, स्वीपर लगायतका गरी ४७ जना छन् ।

नारायणी अस्पतालमा गरिब, असहाय तथा न्यून आर्थिक अवस्था भएका बिरामीहरुको चाँपलाई ध्यानमा राखि कर्मचारी व्यवस्थापन गरिएको समितिले जनाएको छ । अस्पतालबाट उक्त सङख्याका कर्मचारीहरु हटाइपछि थपिएको सेवा बन्द भएको र यसले सेवाग्राहीलाई पर्ने समस्याको सम्पूर्ण जिम्मेवारी निमित्त मेसु हक लिनुपर्ने विज्ञप्तीमार्फत भनिएको छ ।


सम्बन्धित समाचार