Logo

३२ जेठ,चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् ।

चितवनमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने बताए ।

अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्त्यन्तै पठाउने बताए ।
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए।

बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ थियो । समस्या समाधानका लागि मन्त्रालय र सरोकारवाला पक्षबीच छलफल गरिने उनले बताए । ’स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौं,’ उनले भने ।

उनले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहत पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताए । बीमा कार्यक्रमलाई मन्त्रालय मातहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिए ।


सम्बन्धित समाचार