Logo

२४ मंसिर, वीरगञ्ज । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीतिमा मानव अधिकारलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री रहेका पनि उल्लेख गर्नुभएको छ ।

यसैविच आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा वीरगंज लगायत मधेश प्रदेशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । मधेश प्रदेशमा महिला बढी हिंसा पिडित रहेको राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशकी उपनिर्देशक मन्जु खतिवडाले बताउनुभयो ।

महिलामाथि घर देखि लिएर राजनितिक क्षेत्रमा पनि हिंसा भईरहेको खतिवडाले बताउनुभयो । तराई मधेशमा महिलालाई चुल्होचौका गर्नेसम्मको शिक्षा मात्र दिने गरेको र शिक्षा हासिल गरेका महिलालाई पनि अवसर प्राप्तिमा अभिभावकबाट नै रोक लगाउँदा महिला बढी पिडित बनेको खतिवडाले बताउनुभयो ।

बालविवाह र दाईजोका कारणले बढी मानव अधिकारका उलङ्गघन मधेश प्रदेशमा हुने गरेको उहाँले बताउनुभयो । जनचेतनाका कार्यक्रम मात्र गरेर नहुने भन्दै घरघरमा पुगेर जनचेतना जगाउन आवश्यक देखिएको खतिवडाको भनाई छ ।


सम्बन्धित समाचार