Logo

८ साउन, वीरगञ्ज । बाराको जीतपुरमा रहेको आरएमसी फुड्स नेपालका एक पूर्व कर्मचारी सहित ३ जनालाई प्रहरीले कम्पनीको करिव ६ करोड रुपिया ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

भारत मधुवनी स्थायी घर भई सोही कम्पनीका पूर्व कर्मचारी सुधांशु अग्रवाल, वीरगञ्ज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने विष्णु शर्मा र शर्माका भान्जा पर्ने अमन गुप्तालाई प्रहरीले पक्राउ गरी एकसाता देखि अनुसन्धान गरिरहेको छ ।

२०७९ मंसिरमा आरएमसी फुड्समा सेल्स मेनको रुपमा काम गरेका सुधांशु अग्रवालले विभिन्न पार्टीलाई विक्री गरेको सामानको रकम उठाएर कम्पनीको रकम दुरुपयोग गरेपछि उनले २०८० जेठमा जागिर छोडेका थिए ।

सेल्स मेनको रुपमा काम गरेका अग्रवालले विक्री गरेको सामानको भुक्तानी सिधै आफ्नै र आफ्ना नजिकका नातेदारको खातामा झिकाउने गरेको कम्पनीका प्रतिनिधि रवि शर्माले बताए । सुधांशु अग्रवाल सेल्स मेनको रुममा काम गर्दा ५ वटा फर्मबाट लिनुपर्ने करिव ६ करोड १४ लाख रुपियाँ हिनामिना गरेको शर्माको भनाई छ ।

नाटकीय रुपमा पक्राउ परे अग्रवाल

आरएमसी फुड्स प्रालिले ५ वटा कम्पनीहरु श्रीभवानी ट्रेड्स, पंचमुखी बालाजी ट्रेड्स, रानीसति इन्टरप्राइजेज, विटु ट्रेड्स र कमलेश सप्लायर्ससँग लिनु पर्ने हिसाव विगत ६ महिना देखि ताकेता गर्दै आएको थियो ।

आरएमसी फुड्स प्रा.ली.ले पाँच वटा सप्लायर्स कम्पनीहरुबाट पाउँनुपर्ने रकम नपाएपछि प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले गत असार ३० गते पंचमुखी बालाजी ट्रेड्सका संचालक अमन गुप्तालाई पक्राउ गरेको छ ।

अमन पक्राउ परेपछि ठगीमा संलग्न सुधांशु अग्रवाल नाटकीय रुपमा पक्राउ गरेका छन् । अमन गुप्ताका भाईले सुधांशुलाई फोन गरेर दाईलाई प्रहरी हिरासतबाट निकाल्न सल्लाह गनुपर्ने छ एक पटक आफ्नो घर रामटोल आउन आग्रह गरे । अमनको घरमा उनका नातामा मामा पर्ने विष्णु शर्मा, सुधांशु अग्रवाल र उनका भाई विच करिव ४ घण्टा छलफल भयो ।

अमनलाई छुटाउन तत्काल पैसा दिनुपर्ने नदिए यहाँबाट छुटकारा नपाउने भन्दै अमनका भाई र मामा विष्णु शर्माले सुधांशुलाई आफ्नै घरमा घेरेर राखे । सुधांशुले त्यहाँबाट उम्कन नसकेपछि आफ्नो आइफोनबाट साथिहरुलाई लोकेशन पठाएर अपहरणमा परेकोले प्रहरीलाई खवर गर्न म्यासेज पठाए ।

सुधांशुका साथिहरुले सुधांशुले दिएको लोकेशन अनुसार असार ३१ गते साँझ प्रहरी लिएर अमन गुप्ताको घर रामटोल पुगे । प्रहरीले त्यहाँबाट सुधांशु, विष्णु शर्मा र अमनको भाईलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा राखेर अनुसन्धान शुरु गरयो ।

सुधांशु र विष्णु शर्मा वडा प्रहरी कार्यालय विर्तामा शरिक वन्धक गरेको आरोपमा हिरासतमा भएको सुचना आरएससी फुड्स प्रालिका प्रतिनिधि रवि शर्मालाई कुनै चिनजानेकै व्यक्तिले साउन १ गते विहान दियो ।

सुधांशु अग्रवाल र विष्णु शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा केही दिन अघि नै ठगी गरेको भन्दै आरएमसी फुड्स नेपालले उजुरी दिएको थियो । सोही मुद्दामा उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताबाट जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको छ ।

आरएमसी फुड्स नेपालका प्रतिधिनी रवि शर्माका अनुसार कम्पनीका पूर्व कर्मचारी सुधांशु मार्फत विष्णु शर्मा र अमन गुप्ताले करोडौं रुपियाँ मूल्य बराबरको सामान कम्पनीबाट उठाएर विक्री गरी कम्पनीलाई ६ करोड १४ लाख नोक्सान गरेको दावी गरे ।

शर्माका अनुसार श्रीभवानी टे«ड्सका संचालक अजय राउत, रानीसति इन्टर प्राइजेजका दीपेश पण्डित, विटु टे«ड्सका संचालक बिटु शर्मा र कमलेश सप्लायर्सका संचालक विरुद्ध समेत प्रहरीमा उजुरी परेको छ । प्रहरीले आरोपीहरुको खोजतलाश गरिरहेको जनाएको छ ।

पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले पक्राउ परेका व्यक्तिहरुका विरुद्ध ठगी र जालसाजी कसुरमा अनुसन्धान भइरहेको बताए ।


सम्बन्धित समाचार