Logo

२० साउन,काठमाडौं । बंगलादेशको संकटलाई लिएर भारतको राजधानी नयाँ दिल्लीमा चर्चा भएको छ । भारत सरकारले बंगलादेशको विद्यमान अवस्थाका बारेमा सर्वदलीय बैठकमा छलफल गरेको भारतीय संचारमाध्यहरूले जनाएका छन् ।

विदेशमन्त्री एस जयशंकरले बंगलादेशमा अहिले भइरहेको घटनाक्रमबारे छलफल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बंगलादेशमा अहिले जे भइरहेको छ, त्यसमाथि हामीले संसदमा सर्वदलीय बैठकमा कुरा गरेका छौं।’ यसअघि शेख हसिना बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो देश छाडी हिजो सोमबार भारत पुगेकी छिन् ।

सोमबार राति प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको सुरक्षा मामिलाको क्याबिनेट कमिटी (सिसिएस) को बैठकमा उनलाई बंगलादेशमा जारी अवस्थाका सन्दर्भमा जानकारी गराइएको थियो । सिसिएसको उच्चस्तरीय बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, विदेशमन्त्री जयशंकर र अर्थमन्त्री निर्मला सीतारमण सहभागी थिए ।

अमेरिका के चाहन्छ ?

उता अमेरिकाले पनि बंगलादेशको अवस्थालाई लिएर बोलेको छ । अमेरिकाले बंगलादेशका नागरिकले सरकारको भविष्य तय गरुन भन्ने चाहेको उल्लेख गरेको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको नियम र बंगलादेशी नागरिकको इच्छा अनुसार बन्नुपर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले आफ्नो देशमा शरण मागे या नमागेको बारेमा केही थाहा नभएको उल्लेख गरेको छ।

‘हामी बंगलादेशका नागरिकले त्यहाँको सरकारको भविष्य तय गरून् भन्ने चाहन्छौं’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले पत्रकारहरुसँग भने–‘जबाफदेहिता कस्तो हुन्छ, यो बंगलादेशको कानुनमा हेर्नुपर्छ । हिंसा गर्ने र कानुन तोड्नेहरूलाई दोषी ठहर्याइनुपर्छ ।’

म्याथ्यू मिलरले आफूलाई शेख हसिनाले अमेरिकामा राजनीतिक शरण मागेकी छिन् या छैनन् भन्ने बारेमा आफूलाई थाहा नभएको बताएका छन् । एजेन्सी


सम्बन्धित समाचार