Logo

२० साउन,ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् । ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका हुन् । यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गरेका छन् ।

महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे ।

मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई समेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाए।


सम्बन्धित समाचार