Logo

२३ साउन,काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कम्तिमा २० नेता तथा उनीहरूको परिवारसा सदस्यहरू समेत गरी २९ जनाको लाश फेला परेको छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाको पार्टी अवामी लिगका नेताहरु प्रदर्शनकारीको आक्रोशको सामना गरिरहेका छन् । अवामी लिगका २० नेताको शव फेला परेको छ । यी नेताका परिवारका सदस्यको पनि शव फेला परेको छ । धेरै पार्टीका नेता तथा कार्यकर्ताको घर तथा व्यापारिक प्रतिष्ठानमा तोडफोड र लुटपाट भइरहेको छ ।

बंगलादेशको सतखीरामा भएको हिंसामा १० जनाको मृत्यु भएको छ । कुमिल्लामा ११ जनाको ज्यान गएको छ भने बंगलादेशका पूर्व काउन्सिलर मोहम्मद शाह आलमको तीन तले घरमा प्रदर्शनकारीले आगजनी गर्दा छ जनाको ज्यान गएको छ ।

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि उनका पूर्व मन्त्रिपरिषद्का मन्त्रीहरु एक एक गरी भाग्न थालेका छन् । बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमूदलाई ढाका विमानस्थलबाटै पक्राउ गरिएको छ । उनी भारतको उडानमा चढ्न गएका थिए । त्यसपछि उनलाई हिरासतमा लिइयो।

बंगलादेशमा कु हुनुअघि नै शेख हसिनाको पार्टी अवामी लिगका धेरै शीर्ष नेता र पूर्व मन्त्रीहरुले देश छोडिसकेका थिए । अवामी लिगका महासचिव तथा सडक यातायात मन्त्री अब्दुल कादेर आइतबार राति नै देश छोडेर भागेका थिए । यससँगै हसिनाको सरकारमा मन्त्री रहेका अनिसुल हक पनि हसिनाको राजीनामा अघि नै देश छाडेर अज्ञात ठाउँमा गएका थिए ।

बंगलादेश प्रहरी सेवा संघ (बिपीएसए)ले मंगलबार हडतालको घोषणा गरेको छ । उनीहरूले प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताए । बंगलादेशमा सोमबार ४०० भन्दा बढी प्रहरी चौकीमा हमला भएको थियो । यस अवधिमा धेरै प्रहरी मारिए।

शेख हसिनाले नियुक्त गरेका बंगलादेशका प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुनलाई मंगलबार राति बर्खास्त गरिएको छ । सार्वजनिक प्रशासन मन्त्रालयले मंगलबार ट्राफिक तथा ड्राइभिङ स्कुलका कमाण्डेन्ट मोहम्मद मैनुल इस्लामलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने घोषणा गरेको डेली स्टारले जनाएको छ । बर्खास्त गरिएका आईजीपी अल मामुन करारमा थिए । उनले दुई वर्षअघि अवकाशको उमेर पूरा गरेकाले अघिल्लो सरकारले उनको सेवा विस्तार गरेको थियो ।


सम्बन्धित समाचार