Logo

२४ साउन, वीरगञ्ज । फाइनलमा भारतलाई हराएर इतिहास रच्ने उद्देश्य सहित मैदानमा उत्रीएका नेपाली महिला भलिबल टिमको भागमा निराशा प¥यो । जितको नजिकै पुगेको टोली उपाधीबाट उत्ति नै टाढा बन्यो । भारतले बुधबार ५ सेटको संघर्षमा नेपाललाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपाधि जितेपछि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य बनेको हो ।

राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि सनसनीपूर्ण विजय हात पारेको खुशी खुलेर मनाउन नपाउँदै फाइनलको हारले नेपाली महिला भलिबल टिम दुःखी बनेको छ । दुई पटक सेटमा अग्रता लिए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन र भारतले फाइनलमा त्यसको बदला लिँदै त्रिपुरेश्वरस्थित कभर्डहलमा २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को नतिजा निकाल्यो ।

५ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिनको खेलमा नेपालले भारतमाथि २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ को सेटमा विजय पाएको थियो । सन् २०१९ मा यसै कोर्टमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले यही नियति भोग्नुपरेको थियो । प्रतियोगिताभर उत्कृष्ट खेलेको नेपालले फाइनलमा दुई सेटको अग्रता लिए पनि भारतले उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण हत्याएको थियो ।

‘पाँचौं सेटमा हाम्रो टिम गलेर चल्नै नसक्ने भयो, त्यसैपनि पाँचौं सेटमा दबाब हुन्छ । पहिलो चार सेटमा राम्रै प्रतिस्पर्धा गरेको हो । मेन स्पाइकहरूकै अलिकति कमजोरी देखियो, एट्याकिङ र रिसिभिङ दुवै नचल्दा हार्न पुग्यौं,’ नेपालकी कप्तान अरुणा शाहीले भन्नुभयो ‘फाइनलमा सबै टिम एकै पटक जम्न सकिएन, एउटा चल्दा अर्को नचल्ने अवस्था भो । उनीहरूको ब्लकिङ एकदमै बलियो थियो, हाम्रो मिडल चलाउनै सकिएन ।’

नेपालले दमदार सुरुआत गरेको थियो, पहिलो सेटमा ३–० को अग्रता लिएर । तर भारतले आफ्नो क्षमताअनुरुप खेल्दै १८–१४ को अग्रता बनायो । नेपालले पनि घरेलु समर्थकको आडमा भारतको अग्रता उल्टाउँदै २९ मिनेट चलेको पहिलो सेट नाटकीय हिसाबमा हात पा¥यो । कप्तान सूर्या र सलिनी श्रभाननको उत्कृष्ट प्रदर्शनमा भारतले नेपाललाई खासै अवसर दिएन र आरामदायी हिसाबमा दोस्रो सेट जित्यो । नेपालले २४ मिनेटमै यो सेटमा घुँडा टेकेको थियो ।

चौथो सेटमा नेपालले पुनः सानदार पुनरागमन ग¥यो । सबैभन्दा रोमाञ्चक यो सेट ३० मिनेट चल्यो । अन्तिममा नेपालले केही प्रतिरोध गरे पनि भारतले चौथो सेट जितेर खेल २–२ को बराबरीमा ल्यायो । अन्तिम सेटमा नेपाललाई कुनै मौका नदिई भारतले भरिभराउ नेपाली दर्शकमाझ उपाधि जितेको हो । भारतलाई फाइनलमा हराउन सकेको भए पाँच राष्ट्र सहभागी यो प्रतियोगिता नेपाली महिला भलिबल इतिहासमा सबैभन्दा ठूलो उपाधि हुने थियो, तर नेपालले अझै त्यसका लागि कुर्नुपर्ने भएको छ ।

‘हाम्रो उद्देश्य पूरा गर्न बाँकी छ, हाम्रो स्तर पहिलाभन्दा माथि आएको छ,’ अरुणाले थपे , ‘म र सरस्वती (चौधरी) मात्र टोलीका सिनियर खेलाडी हौं, भारतलाई हराएर उपाधि जित्न नसक्दा व्यक्तिगत रूपमा एकदमै दुःखी छु, टिम नै दुःखी छ, सबै समर्थक दुःखी छन् ।’

प्रशिक्षक जगदीश भट्टले पनि आफ्नो कप्तानको भनाइसँग सहमती जनाए  । ‘हामीले सर्भिस र रिसिभ राम्रो गर्न नसक्दा हार बेहोर्नुपरेको हो । चौथो सेटमै खेल जित्नुपर्ने हो, पुनरागमन प्रयास पनि गरेकै हो, तर स–साना गल्ती गर्दा हार बेहोर्नुप¥यो,’ उनले भने , ‘हाम्रो टोलीका जो प्रमुख खेलाडी हुन्, उनीहरू चल्न सकेनन् । विपक्षीको ब्लक राम्रो भयो । हाम्रो रिसिभ राम्रो नहुनेबित्तिकै विपक्षी खेलमा हाबी भइहाल्यो ।’

राउन्ड रोबिन लिगमा भारत र नेपाल पहिलो दुई स्थानमा रहेका थिए । लिगमा इरानसँग पराजित नेपालले त्यही इरानलाई सेमिफाइनलमा पराजित गरी भारतसँग उपाधि भिडन्तमा उत्रिएको थियो । इरानले श्रीलंकालाई २५–२२, २८–२६, २५–१७ ले पराजित गरी तेस्रो स्थान हासिल ग¥यो ।

विधागत स्पर्धाको अवस्था
विधागत उत्कृष्टतर्फ
वेस्ट आउटसाइड हिटर १
मासोमेह घडामी (इरान)
वेस्ट आउटसाइड हिटर २
सलिनी श्रभानन (भारत)
वेस्ट मिडल ब्लकर १
सूर्या एस (भारत)
वेस्ट मिडल ब्लकर २
मोबिना सदात (इरान)
वेस्ट सेटर
जुही सा (भारत)
वेस्ट अपोजिट प्लेयर
सरस्वती चौधरी (नेपाल)
बेस्ट लिबरो
सलिना श्रेष्ठ (नेपाल)
मोस्ट भ्यालुएबल प्लेयर
सलिनी श्रभानन (भारत)


सम्बन्धित समाचार