Logo

३२ साउन,वीरगञ्ज । पर्साबाट भारी परिमाणमा लागु औषधसहित पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । चार सय ८९ केजी लागु औषधसहित पटेर्वासुगौली गाउँपालिकाबाट पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिकामाइ गाउँपालिका वडा नम्बर १ मुडली बस्ने ४० वर्षका फुलसरिफ मिँया रहेका प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।

विशेष सुचनाको आधारमा गएराती प्रहरीले गाउँपालिकाको वडा नम्बर ४ अकवा गाउँको बासँघारीबाट लागु औषध उनलाई पक्राउ गरेको थियो ।  उनलाई जाँच गर्दा ठूलो परिमाणमा लागु औषध बरामद भएको प्रहरीको भनाइ छ । सुरुमा उनको साथबाट लागु औषध गाँजा ३० केजी फेला परेको थियो ।

त्यसपछि उनले दिएको बयानको आधारमा बासँघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश र गाँजाको धुलो अर्थात् पोल्याण्ड समेत बरामद भएको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिए ।

बोराभित्रबाट थप १९२ केजी चरेश र २६७ केजी पोल्याण्ड समेत भेटिएको प्रहरीले बताएको छ ।  पक्राउ परेकामाथि लागु औषधसम्बन्धि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


सम्बन्धित समाचार