Logo

३२ साउन,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले आफ्ना कानुन व्यवसायीले सिकाए अनुरूप काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका छन् । जिल्ला अदालतमा थुनछेक बयानका लागि उपस्थित हुँदा उनी आफ्ना कानुन व्यवसायीले जेजे भन्नु भनी सिकाएका थिए त्यहीमात्र बोलेर अरू कुरामा मौन रहेका हुन् ।

उनलाई न्यायाधीशले १४ वटा प्रश्न गरेपनि वकिलले सिकाएअनुसार नै जवाफ दिएको एक कानुन व्यवसायीले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिँदै उनले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि रकम कसैसँग नलिएको दाबी गरे ।

उक्त प्रकरणमा पूरक अभियोग पत्र दायर भएपछि अदालत पेस भएका उनीसँग शुक्रबार थुनछेक बहसअघि बिहीबार बयान गराइएको थियो । उक्त बयानमा उनले मुख्य प्रमाणलाई नै अस्वीकार गरेका छन् । १५ सवालमध्ये ७ देखि ११ सम्मका प्रश्नमा झालाई चेकै वरिपरि र यसअघि दायर भएका प्रतिवादीको बारेमा सोधिएको थियो । उनको स्वास्थ्य अवस्थादेखि बरामद प्रमाणसम्म सोधिएको प्रश्नमा उनले जवाफ दिएका थिए ।

जिल्ला अदालतमा उनलाई सवाल नम्वर ९ मा रामशरण केसीले आफ्नो नाउँको हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि भेटी दिएको विषयमा प्रश्न सोधिएको थियो ।
जवाफमा उनले आफूले रामशरण केसी भन्ने व्यक्तिलाई तथा सानु भण्डारीलाई नचिनेको दाबी गरे । उनले रामशरण केसीलाई नभेटेको र चेक पनि नलिएको दाबी गरेका छन् । तर प्रहरीले उनको नाममा काटेर र सटही भएको चेकको अर्धकट्टी समेत अदालतमा प्रमाणको रूपमा पेस गरेको छ।

झाले यसरी बयान दिनुको कारण नै उनका कानुन व्यवसायीले केसीलगायतलाई ‘चिन्नै अस्वीकार गर्नु’ भनी दिएको सुझाव थियो । कनेक्सन भएका भनिएकालाई चिन्न अस्वीकार गर्दा र चेक लिएको कुरा अस्वीकार गर्दा जिल्लाले सहजै धरौटीमा छोड्ने आधार देखेर उनले यस्तो बयान गरेका बताइएको छ ।

झाले रामशरण केसीले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक भएको समेत दाबी गरे । उनले सवाल जवाफ ७ मा ‘यसअघि मुद्दा दायर भएका प्रतिवादीहरूलाई चिन्नु हुन्छ’ भनी सोधेको प्रश्नमा पनि यही जवाफ दिएका थिए ।

उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेको दाबी पनि गरेका छन् । झाविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा शुक्रबार हेर्दाहेर्दैमा रहेको छ। अब उनी थुनामा जाने कि रिहा हुन्ने भन्नेबारे आइतबार आदेश आउने अपेक्षा गरिएको छ ।

 


सम्बन्धित समाचार