Logo

११ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ ।

जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो ।

उहाँले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै मर्ने र मरिसकेपछि पनि युगयुगसम्म जागरण पैदा गरिरने र कहिल्यै नपर्ने बताउनुभयो । पारिजातको कविता उधृत गर्दै उहाँले सहिदहरु कहिल्यै नमर्ने बरु उनीहरु युगयुगसम्म नारा भएर घन्किरहने बताउनुभयो ।

जेवी टुहुरे फाउण्डेसनले एक लाख राशीसहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिनलाई समर्पण गरेको छ । इच्छुक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको बताउनुभयो ।

‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– उहाँले भन्नुभयो– ‘मेराका लागि यो निकै खुशी र गर्वको क्षण हो ।’

सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक यौद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न संभव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठूलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुशी व्यक्त गर्दै उहाँले सांस्कृतिक यौद्धाहरुको समाज रुपान्तरणप्रतिको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो ।

जेवी टुहुरे फाउण्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोल्नुभएको थियो । सो क्रममा जनवादी कलाकारहरुले सांस्कृतिक यौद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार