१२ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।
प्रकाशलाई तत्काल नागरिकता आवश्यकतानै रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले मङ्गलबार रातीनै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा थप छलफल भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘शुभ बिहानी !! हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन ।
पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ ।
नागरिकता छिटो बनाउने विषयमा राती १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’’