Logo

१२ भदौ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरेका भन्दै युवालाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए। उनले युवाहरूका विरोधका बोली सरकारले सुन्नुपर्ने बताए।

उनले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरूले सिंहदरबार भित्रका बेइमानलाई खबरदारी गरिएको भन्दै उक्त कारण समाउन नपाइने बताए। उनले युवाहरूलाई त्रसित नबनाउन पनि आग्रह गरे।

ढकालले भने‚ ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे। सरकारले त्यो भिडियो फुटेज स्क्रिनिङ गरी गरी हिजोबाट ती युवाहरूलाई हिरासतमा राख्न थालेको रहेछ। यो बिल्कुल गलत भएको छ। युवाले राखेको विरोधका बोली राज्यले सुन्न सक्नुपर्छ। ती युवाहरूलाई तत्काल रिहाको माग गर्न चाहान्छु। साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार आएको छ। कमिलाको उड्ने वेला प्वाँख पलाउँछ। सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाए जस्तै हुन्छ।’

उनले स्टाटस लेखेको भरमा विभिन्न जिल्लामा युवाहरूलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिए।

 


सम्बन्धित समाचार