Logo

१३ भदौ,काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै शुक्रवार(भोली) मात्रै अवकाशमा जान लागेकी मुख्य सचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारीसमेत रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।

हालकी मुख्य सचिव गडतौला ५८ वर्षे उमेर हदका कारण शुक्रवार राती १२ बजेदेखि अवकाशमा जाँदै छिन् । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला मुख्य सचिव हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै स्वतः निलम्बन हुन पुगेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर सारिएसँगै प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गडतौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।

३१ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारीमा रहेकी गडतौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो भने १० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई नै मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।

छोटो अवधिका कारण गडतौलाको नियुक्तिले कसैलाई पनि असर गरेन । निजामतीमा यौटा रेकर्ड नै कायम हुने भएकोले पनि उनीभन्दा स्वभाविक रूपमा रोल क्रममा अगाडी रहेका सचिवहरूसमेतले खासै विरोध गरेनन् । यद्यपि यसरी रोलक्रम मिचिनेमा गडतौला पहिलो मुख्य सचिव भने होइनन् ।

गडतौलाको अवकाश हुने समय केही घण्टामा मात्रै सीमित हुँदै गर्दा अब बन्ने मुख्य सचिव को भन्ने विषयमा भने निकै धेरै चाँसो देखिन्छ । ज्येष्ठतासँगै निर्णायक क्षमतासमेतलाई आधार बनाई राजनीति तथा कर्मचारी वृत्तमा चर्चा परिचर्चा भई रहेको छ । जसमध्ये एकनारायण अर्याल, दिनेश भट्टराई र डा. तोयनारायण ज्ञवालीलाई मुख्य दाबेदारका रूपमा लिइएको छ ।

र, त्यसमध्ये पनि गृह सचिव अर्याल र महिला सचिव भट्टराईमध्ये कुनै एक जनालाई आजै मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको प्रशासन स्रोतको दाबी छ ।


सम्बन्धित समाचार