Logo

१४ भदौ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कर्मचारी भर्नाको नाममा ठगी भर्ना सुरु गरिएको आवेदकहरुको गुनासो छ । करार कर्मचारी भर्नाको विज्ञापन गरेर जनता लुट्ने काम सुरु भएको आवेदकहरु दुखेसो पोखेका छन् ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एनामूल हकले जिम्मेवारी सम्हाँले लगत्तै कर्मचारी भर्नाको नाममा विज्ञापन गरेर आवेदकलाई बेवकुफ बनाउने काम भइरहेको बताइन्छ ।

अस्पतालले पछिल्लो दुइ महिनामा मात्रै तीनपटक करार कर्मचारीका लागि भर्ना निकालेको छ । अधिकांश भर्नामा आवेदकहरुसंग अन्तर्वार्ता लिएपनि नियुक्ति प्रक्रियासम्म जाँदा मेसु हकले मनपरी ढंगले विज्ञापन रद्द गराउने काम गरिरहेको आवेदक आदित्य पटेल बताउँछन् ।उनका अनुसार गएको १४ मा कर्मचारी भर्नाको सूचना निकालिएको थियो ।

उनी भन्छन्, ‘त्यसबेला २७ पदका लागि भर्नाको सूचना निकालियो, जसमा करिब २ सय जनाले आवेदन दिए । अधिकृत पदका लागि एक हजार र अन्य पदका लागि ६ सय दस्तुर तोकिएको थियो । यो दस्तुर अनुसार सबै बैंकमा पैसा बुझाएर अन्तर्वाताको प्रक्रियामा सहभागी पनि भए, तर पछि मेसु हकले यी भर्ना प्रक्रिया तत्कालको लागि रोकिदिए । जुन गलत हो ।’

उनका अनुसार सबैले आवेदक दस्तुर तिरेर अन्तर्वार्ताको प्रक्रियामा सहभागी भएका थिए, तर त्यो रद्द गर्दा आवेदकको पैसा डुब्ने भयो । अहिलेसम्म त्यसबेलाको आवेदन दस्तुर फिर्ता नआएको उनी बताउँछन् । पटेलले त्यसबखत एचए पदका लागि आवेदन दिएका थिए ।

पटेल मात्रै होइन । त्यही बेला लक्ष्मण मण्डलले पनि आवेदक दस्तुर तिरेर परीक्षामा सहभागी भएका थिए । तर उनको पनि आवेदन दस्तुर त्यसै खेर गएको भएको उनी सुनाउँछन् ।
उनी भन्छन्, ‘जब कर्मचारी भर्ना नै गर्नुछैन भने किन सूचना निकाल्नु पर्‍यो ? नत्रभने निकालिएको सूचना अनुसार त काम बढाउनुपर्छ नि ? नबढाउनुको सिधा अर्थ हो पैसा लुट्नु वा आवेदकसंग खेलवाड गर्नु । किनकी परीक्षा नै रद्द गरेपछि आवेदकको पैसासंगै समय पनि खेर गइरहेको छ नि, यो भनेको मेसुको मनपरी हो ।’

असारदेखि भदौंसम्ममा गरी नारायणी अस्पतालले निकालेको कर्मचारी भर्नाका लागि विभिन्न पदमा गरी करिब २ सय जनाले आवेदन दिएको अस्पताल प्रशासन शाखा प्रमुख सुशिल यादव बताउँछन् । उनका अनुसार आवेदकहरुले ६ सयदेखि एक हजार दस्तुर बुझाएका छन् । तर अहिलेसम्म कसैको पैसा फिर्ता नगरिएको उनी स्वीकारोक्ति छ ।

अस्पतालले असारको १०, १४ र भदौंको ११ गते गरी अहिलेसम्म तीन पटक कर्मचारी भर्नाको सूचना निकालेको छ । यो सूचनामा सामान्यतः ६ सय दस्तुरलाई आधार मानेर हिसाब गर्ने हो भने नारायणी अस्पतालले यो दुइ महिनामा मात्रै १ लाख २० हजार रुपैयाँ हुन जान्छ, जुन अहिलेसम्म फिर्ता भएको छैन ।

तर अस्पतालका मेसु हकले कुनै ठगी भर्ना नचलाएको बताए । यसअघिका कर्मचारी भर्नाको विज्ञापन मन्त्रीहरुको फेरबदलका कारण स्थगित गरिएको उनले जनाए ।
उनले भने, ‘तर जुसकै भएपनि आवेदक दस्तुर हामी फिर्ता गर्छौ, त्यसमा कुनै गलत हुनेछैन । अर्को कुरा पहिला आवेदन दस्तुर बुझाएका आवेदकहरुले त्यही भौचरमा यो भर्नामा पनि सहभागी भइरहेका छन, नहुनेको प्रक्रिया अनुसार पैसा फिर्ता हुनेछ ।’


सम्बन्धित समाचार