Logo

२४ भदौ,सेढवा । पर्साको ग्रामीण भेगका किसानहरुले लगाएका बर्षेबाली धानमा अहिले दुई वटा रोगको संक्रमण हुदा किसानहरु चिन्तामा परेका छन् । खास गरी अगहनी धानबालीमा यी रोगको संक्रमण देखिएको हो । सोना मंसुली र मोटरी मंसुलीमा यी दुबै रोग लागेका किसानहरुले बताउ छन् ।

बालीमा सिड ब्लाईड र गोबारो रोग लागेको हो । सिड ब्लाईड रोगका कारण बिरुवाको जरा कुहिएको तथा जरा बाटै पातहरु सुक्दै गएको जगरनाथपुर गाउँपालिका वडा नं ३ का किसान धर्म साहले बताए । बिरुवामा बाला पलाउने समयमा पिका अर्थात बाला निस्कने भाग नै सुक्दै गएको साहको भनाई छ । एक दुईपटक बिषादी छरे पनि कुनै असर नभएको साहले बताए। एकैपटक बालीमा दुई वटा रोग देखा परेपछि किसानहरुले कुन रोगको औषधी छर्ने कुरालाई लिएर चिन्ता परेका साहले बताए।

बिरुवामा बाली पलाउने बेला भएकोले अन्तिम पटक रासायनिक मल यूरिया छर्ने बेला पनि भएको जिराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान अमृत चौधरीले बताए । अब यस अवस्थामा औषधी छर्ने कि मल छर्ने कुरामा अलमल रहेको किसान चौधरीले बताए ।

यस सम्बन्धमा कृषि ज्ञान केन्द्र पर्साका कृषि प्रसार अधिकृत सुरेन्द्र प्रसाद कुर्मीले फन्गसको कारण सिड ब्लाईड र किराका कारण गोबारो ( पिका सुक्ने) रोग लाग्ने गरेको बताए। बालीमा सधै पानी जमेका कारण यी रोगहरु लाग्ने गरेको अधिकृत कुर्मीले बताए ।

बालीलाई यी रोगबाट बचाउन किटनाशक औषधी र बिषादी प्रयोग गर्नु पर्ने अधिकृत कुर्मीले बताए । गोबारो रोगका लागि क्लोरोपाइरीफस २ एम एल प्रति लिटर पानीमा मिसाएर बालीमा छर्न अधिकृत कुर्मीले बताए । त्यस्तै सरलदहवा अर्थात सिड ब्लाईड रोगका लागि साफ नामक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई बालीमा छर्न अधिकृत कुर्मीले सुझाव दिए ।


सम्बन्धित समाचार