२५ भदौ,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ ।
वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । घरबाटो सिफारिसका लागि एक सेवाग्राहीसंग चार लाख बढी रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए । घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ ।
पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित छन् ।
जनकपुरधामका मेयर मनोज साहले वडाध्यक्ष र सचिवलाई घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थाहा पाएको बताए ।
अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।