Logo

२६ भदौ,काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको थियो ।

यस वर्ष कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । ‘साउन र भदौ महिना जेइ को संक्रमणदर उच्च हुन्छ । तराई क्षेत्रमा आउट ब्रेक भएको छ,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘जेइ को सङ्क्रमणको मृत्युदर पनि उच्च छ । रोकथामका लागि काम थालिसकेका छौँ ।’

गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमितको संख्या कम भए पनि मृत्युदर बढेको महाशाखाले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन् । सङ्क्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् । ‘जेइको विरुद्धमा खोप दिइरहेका छौँ । अधिकांश खोप नलगाउने मानिसलाई मृत्यु पनि भइरहेको छ,’ डा. गौतमले भने ।

जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ । महाशाखाले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार