२ असोज,काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।
बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । उनले भने, ‘दुई ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौँ। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ ।’
मन्त्री पाण्डेले भने,’संविधान संशोधन गर्नु पर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा माओवादी ,राप्रपा, रास्वपालगायतका दलहरूसमेत एक ठाउँमा आउन जरुरी छ।’
उनले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नु पर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए । लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशिता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको उनको भनाइ छ ।
मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरुरी रहेको औँल्याए । त्यसै गरी उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिए ।