Logo

४ असोज,काठाडौं। सरकारले प्रस्ताव गरेको सशस्त्र प्रहरीको ऐनको मस्यौदाप्रति असन्तुष्टि देखिएको छ। सशस्त्र प्रहरी बलले विधेयकको मस्यौदामा एसपीको पदावधि ८ वर्ष रहने र दुई वर्ष थप्न सकिने प्रावधान राखेको तर अहिले ऐनको मस्यौदा आउदा एसपीको पदावधि हटाउदा असन्तुष्टि बढेको हो।

यसले इन्स्पेक्टरको चौथो ब्याचदेखिका अधिकृतको वृत्ति–विकासमा असर पर्ने भएकाले सच्याउनु पर्ने उनीहरूको धारणा रहेको छ। यसअघि एसएसपीको ७ वर्ष र एसपीको १० वर्ष पदावधि थियो। तर अब एसएसपीको पदावधि एक वर्ष बढाएर ८ वर्ष बनाइएको छ। एसपीको पदावधि नै हटाइएको छ।

ऐन जस्ताको तस्तै पास भएमा एसपी पदावधिका कारण अवकाश नहुने भएका छन्। एसपीदेखि तल्ला तहमा पदावधि रहने छैन। ‘यो प्रावधानले इन्स्पेक्टरबाट भर्ना भएका धेरै इन्स्पेक्टरबाटै अवकाशमा जाने अवस्था आउँछ।

३–४ वटा ब्याचको भविष्य अस्तव्यस्त हुन्छ,यो प्रावधान सच्याइएन भने इन्स्पेक्टर र डिएसपी तहमा नैराश्यता आउनेछ र सशस्त्रमा भर्ना हुनेहरुको संख्यामा पनि निकै कमी आउनेछ’, सशस्त्रका एक उच्च अधिकरीले भने।

त्यस्तै, एआइजीको पदावधि सशस्त्र प्रहरी प्रधान कार्यालयले चार वर्ष राखेकोमा गृहले त्यसलाई घटाएर तीन वर्ष कायम गरेको छ। त्यस्तै, डिआइजीको पाँच र एसएसपीको ६ वर्ष पदावधिको प्रस्ताव भएकोमा त्यसलाई आठ बनाइएको छ।

नयाँ विधेयकमा अधिकृत तहका कर्मचारीको अवकाशको उमेरहद ६०, राजपत्र अनंकित अधिकृतको ५५, बिल्लादार र जवानको ५१ तथा श्रेणीविहीन कर्मचारीको ५५ वर्ष कायम गरिएको छ। ३० वर्षे सेवाहद हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ भने वरिष्ठ हवल्दारसम्मलाई १६ तथा असइ, सइ र वरिष्ठ सइलाई १८ वर्षमा स्वेच्छिक अवकाशको सुविधा दिने प्रक्रिया पनि अघि बढेको छ।

अहिलेको प्रस्तावित मस्यौदामा सशस्त्र प्रहरी प्रधान कार्यालयमा भएको छलफलबाट भने आईजीपीको तीन वर्ष, एआईजीको चार वर्ष र डीआईजीको पाँच वर्ष कार्यकाल प्रस्ताव गरिएको थियो। एसएसपीको ६ वर्ष र एसपीको ८ वर्ष पदावधि प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावलाई हेरफेर गरेर सरकारले ऐनको मसौदा तयार गरेपछि सशस्त्र प्रहरीभित्र एक प्रकारको निराशा पैदा भएको छ।

सशस्त्र प्रहरीमा ल्याउन लागिएको नयाँ व्यवस्था तत्काल कार्यान्वयन भए यसको असर भने सशस्त्र प्रहरीका १२ ब्याचका अधिकारीहरुलाई पर्ने भएको छ। सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकसम्मलाई यसको असर पर्ने छ।

उनीहरु हाल कार्यरत पदमै लामो समय काम गर्नु पर्नेछ अहिलेका इन्सपेक्टर र डीएसपीले करिब १५ वर्षसम्म एउटै पदमा रहनु पर्ने भएकलेपनि चाडो जाम खोल्न दबाब बढिरहेका बेला प्रस्तावित ऐनले झन जाम बढाउँदै जाने बताइएको छ।

सशस्त्र प्रहरीमा एसएसपीको पद ३४ जना मात्रै छ । यस्तै १६ जना डीआईजी र तीन जना एआईजी छन्। हालका एसपीहरु पदावधिका कारण अवकाश नहुने र एसएसपीमा बढुवा हुन पनि ३४ जना मात्रै दरबन्दी भएकाले तल्लो दर्जालाई बढुवा हुन समस्या पर्ने बताइएको छ ।

 


सम्बन्धित समाचार