Logo

६ असोज,काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले बताए । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

किन पक्राउ परे छविलाल जोशी ?

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, जीवी राई र छविलाल जोशीको आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरुले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानका खुलाए अनुसार, आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । बीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए ।

पछि भने मनमुटाव भएपछि जोशी गोर्खा मिडियाबाट अलग भएका थिए ।

सहकारी छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ, ‘निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

 


सम्बन्धित समाचार