Logo

८ असोज, वीरगञ्ज । पर्सा जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिए । उनका अनुसार पर्साको १४ पालिकामध्ये तीन वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैन । अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ । यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ ।

कार्यालयका अनुसार जिल्लामा आव २०८०÷८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रतिएक लाखमा १६ दशमलव तीन जना रहेका छन् । त्यस्तै आव २०८०÷८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव छ जना रहेको छ । आव २०७९÷८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रतिएक लाख जनामा १७ दशमलव एक जना छन् ।

त्यसैगरी आव २०७९८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताउनुभयो ।


सम्बन्धित समाचार