Logo

८ असोज,जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानविन गर्न छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले अलग अलग छानविन समिति गठन गरेका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए । जसमध्ये ७ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार छन् ।

थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन समेत गरेका छन् ।

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।


सम्बन्धित समाचार