Logo

१४ पुष,वीरगञ्ज । प्रतिनिधि सभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन्।

मंसिर ४ को चुनावअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई रौतहट ३ मा कांग्रेस र माओवादीले पनि साथ दिएका थिए। काठमाडौंस्थित क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ’आम जनता पार्टी’ घोषणा गरेका हुन्। उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन्।

अहिले प्रभु साहले ५१ सदस्यीय केन्द्रीय तदर्थ कमिटी बनाएका छन्। बिहीबार उक्त तदर्थ केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकले प्रदेश, विभागका इन्चार्जहरु पनि चयन गरेको साहले जानकारी दिए।स्वतन्त्र उम्मेदवार जिताऊँ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए।

साह स्वतन्त्र सांसद भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल र नेकपा एमालेका दोस्रो, तेस्रो तहका नेताहरुसँग संवादमा थिए। तर उनको तत्कालै कुनै पार्टीसँग कुरा मिलेन।

एमालेले उनलाई साधारण सदस्यबाटै निष्कासित गरिसकेको छ। माओवादी र समाजवादीले पनि उनका माग पूरा गर्ने अवस्था तत्कालै नदेखिएपछि नयाँ यात्रामा निस्किएका हुन्।

नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई ब्रदी न्यौपानेले साथ दिएका छन् । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए । एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपाने उनै हुन्, जसले तत्कालीन समयमा मधेसी जनअधिकार फोरमलाई कडा टक्कर दिएका थिए ।

न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने सहभागी भएनन्। यसअघि साह र उनी निकटस्थले अमरेश कुमार सिंहको पनि नयाँ पार्टीमा सहभागिता रहने प्रचार गरिएको थियो । ​साहको पार्टीमा न्यौपाने बागमती र गण्डकी प्रदेश इन्चार्ज रहेका छन् ।

पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । पार्टीको प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् भने इन्चार्जमा रामप्रित राम रहेका छन् । यस्तै मधेस प्रदेशमा श्रीचम मुखिया अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्री न्यौपाने इन्चार्ज छ

यसैगरी गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र इन्चार्ज बद्री न्यौपाने नै रहेका छन् भने लुम्बिनीमा परमानन्द बर्मा अध्यक्ष र रितादेवी यादव इन्चार्ज छन् । यस्तै कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा रहेका छन् । सो पार्टीले विभिन्न जनवर्गीय संगठन तथा विभाग पनि बनाएको छ ।

 


सम्बन्धित समाचार