Logo

१ असोज, वीरगञ्ज । वीरगञ्जमा ९८ बर्षीया एकल महिला मनदेवी मिश्रलाई अम्बिका ममता स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । शैक्षिक, धार्मिक तथा समाजिक क्षेत्रमा योगदान पु¥याएको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ की ९८ बर्षीया महिला मनदेवी मिश्रलाई सम्मान गरेको हो ।

काठमाडौं स्थायी घर भई लामो समयदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा बसोवास गर्दै आएकी मिश्रको परिवारले विद्यालय स्थापना गर्नका लागि जग्गादेखि भौतिक संरचना निर्माण लगायतमा योगदान पुर्‍याएकोले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले जानकारी दिए ।

प्रतिष्ठानकी चञ्चला दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ९८ बर्षकी वृद्धा महिलालाई २५ हजारको चेक सहित दोसल्ला ओढाएर सम्मान गरे । मनदेवीलाई सम्मानपछि मन्तव्य व्यक्त गर्दै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजमा एकल महिलाहरुले पु¥याएको योगदानको कदर र सम्मान गर्नुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पाण्डेले आफू मन्त्री हुँदा एकल महिलाहरुलाई पुर्नविवाह गर्न प्रोहत्साहित गर्नका लागि ५० हजार रुपैंया प्रोत्साहन पुरस्कारको व्यावस्था गरेपनि महिलाहरुकै विरोधका कारण न्यायालयले रोक लगाएको सुनाए । उनले आफू अर्थमन्त्री हुँदा महिलाहरुको शिक्षाका लागि चार अर्ब रुपैया बजेट विनियोजन गरेको र ३० हजार सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माणको योजना ल्याएको जिकिर गरे ।

नेपालको सामाजिक संरचना, रुढीवादी सोच र धार्मिक आस्था र मान्यताका कारणले महिलाहरु धेरै पछाडि परेको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले शिक्षा भएन भने झन पछाडि पर्ने बताउदै महिलालाई शिक्षामा प्रोत्साहन गर्नुपर्ने बताए । सम्मानित मनदेवी मिश्रको योगदानको प्रशंसा गर्दै उपाध्यक्ष पाण्डेले एकल महिलाको आँट र साहसले महिलाहरुको मनोबल बढाउने विश्वास व्यक्त गरे । शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने एकजना व्यक्तिलाई सम्मान गर्दै आएको अम्बिका ममता स्मृति प्रतिष्ठानले यषबर्ष मिश्रलाई सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यकार गणेश लाठ, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.निरज सिंह, शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाली कांग्रेसका नेता जितेन्द्र पुरुष ढकाल, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले गरेका थिए ।


सम्बन्धित समाचार