Logo

१६ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको भन्सार छलीका सामान पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

बारा प्रहरीले जिल्लाका फरकफरक स्थानहरुबाट ५ लाख ५५ हजार ८८५ मूल्य बराबरका सामान पक्राउ गरि आवश्यक कारबाही अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चलाएको जाँच अभियानका क्रममा बिल बिजक भन्दा बढी र बिल भरपाइ नभएका सामान नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट दुुइ लाख ८० हजार मूल्य बराबरका १४० पिस ‘एयरबर्डस्’ बरामद गरेको जनाएको छ । गौरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ९१४१ नम्बरको यात्रुवाहक बसबाट उक्त मूल्यका एयरबर्डस् बरामद गरेको प्रहरीको भनाइ छ ।

यसैगरी जीतपुरसिमरा–१ पथलैया चोकबाट ल्वाङ १ बोरा, धनिँया १८ बोरा, मेथी २ बोरा, जिरा ८ बोरा, खुर्सानी ६ बोरा, मोनो सोडियम ग्लुटेमेट १० बोरा बरामद भएको छ ।

प्रहरी चौकी पथलैयाको टोलीले बीरगन्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ६०७० नम्बरको बसमा लोड रहेको अवस्थामा दुइ लाख ७५ हजार ८८५ रुपँया बराबरका ती सामान नियन्त्रणमा लिएको जनायो ।
बरामद सामानहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।


सम्बन्धित समाचार