Logo

२८ असोज, काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का न्युजिल्यान्ड र पाकिस्तानको खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा शुरु हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा भारतसँग ५८ रन र तेश्रो खेलमा श्रीलङ्कासँग आठ विकेटले विजयी हुँदा दोश्रो खेलमा अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३१ रनले हराउँदा दोश्रो खेलमा भारतसँग छ विकेट र तेश्रो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

गएराति भएको खेलमा अस्ट्रेलियाले भारतलाई नौ विकेटले हरायो । गएरातिको हारसँगै भारतलाई सेमिफाइनलमा पुग्न आजको नतिजा निकै महत्वपूर्ण रहेको छ । किनभने समूह ‘ए’ मा अष्ट्रेलिया सबै चार खेलमा जितसहित सेमिफाइनलमा पुगिसकेको छ । भारत चार अङ्कसहित दोस्रो स्थानमा छ । चार अङ्कसहित न्युजिल्याण्ड तेस्रो स्थानमा छ ।

समूह ‘ए’ को आज हुने अन्तिम खेल न्युजिल्याण्डले जितेमा सेमिफाइनल पुग्नेछ । भारत र पाकिस्तान बाहिरीनेछन् । तर पाकिस्तानले न्युजिल्याण्डलाई हराएमा नेट रनरेटका आधारमा नतिजा निर्धारण हुनेछ । यसमा भारतकै सम्भावना बलियो हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।


सम्बन्धित समाचार