Logo

१८ पुस,सेढवा ।  । आजबाट बढेको चिसोका कारण ग्रामीण बासीन्दाको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुसगैँ चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । चिसो बढेसगैँ बाटोमा गुड्ने सवारीसाधनको सङख्यामा समेत कमि आएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाँउपालिका र पोखरिया नगरपालिकाले सामुदायिक विद्यालयमा शनिवारसम्म जाडो विदा दिएका छन् । चिसोको कारण विशेष बालबालिका, विपन्न, असहाय तथा दलित समुदायका मानिसहरुलाई निकैै कठिनाई हुने गरेको जिराभवानी गाउँपालिका–२ का माथुर माझी मुसहरले जानकारी दिनुभयो ।

विगतको समयमा पालिकाले आगो ताप्न दाउरा वितरण गर्ने गरेतापनि यसपटक भने केहि वास्ता नगरेकोे स्थानीयको गुनासो छ । उता पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले विपद व्यवस्थापन समिति पर्साको बैठकमा दाउरा बितरण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

निर्णय भएको भोलीपल्ट नै दाउराको राजश्व डिभिजन वन कार्यालयको खातामा दाखिला गरेपनि हालसम्म उपलब्ध भने नभएको चौधरीले बताउनुभयो । त्यसैगरी जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले डिभिजन वन कार्यालयले पालिकालाई काखापाखा गरेको आरोप लगाउनुभयो ।

दैनिक एक जना कर्मचारी डिभिजन वन कार्यालयमा धाईरहदाँ समेत दाउरा उपलब्ध नभएकोे उहाँको गुनासो छ । डिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले कार्यालय प्रमुख बिदामा रहेकाले दाउरा उपलब्ध गराउन नसकेको बताउनुभयो । कार्यालय प्रमुखको उपस्थिती हुने बित्तिकै सो काम गरिने मियाँको दावी छ ।


सम्बन्धित समाचार