Logo

२ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छप्कैयाका विरेन्द्र साह सोनारको मृत्यु प्रकरणमा बारा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विरेन्द्रकी श्रीमती मनिषा देवीलाई नै सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बारामा लगिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
सोनारको मृत अवस्थामा हिजो बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहरको त्रिवेणी पुल नजिकै शव फेला परेको थियो ।

सोनार गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए । भारत, रक्सौल घर भई हालसोनारकै घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसंगै बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर गएको आफन्तले बताएका छन् ।
डेरामा बस्ने ३५ वर्षीय कलवार अहिले सम्पर्कविहीन रहेको बारा प्रहरीले बताएको छ ।

विरेन्द्रको हत्या गरिएको हो की होईन भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । विरेन्द्रका भाई सुरेन्द्रले २६ गते शनिबार विजयसँग विवाद समेत भएको र २७ गते आईतबार दुवैजनासँगै निस्किएको बताए ।

बिरेन्द्र बेपत्तापछि शंका लागेर विजयलाई सोधपुछ गर्दा विजय अकमकाएको र विरेन्द्रकी श्रीमतीले विजयको हात छैन भनेर जोगाउन खोजेको मृतकका भाई सुरेन्द्रले बताए । घटनापछि विरेन्द्रकी श्रीमतीले नै विजयलाई भगाएको सुरेन्द्रले दावी गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराले भने घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

 


सम्बन्धित समाचार