Logo

६ कात्तिक,जनकपुरधाम । सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति करारका मेडिकल अधिकृतहरू तलब नपाएपछि आन्दोलित बनेका छन् ।

विगत तीन महिनादेखि तलब नपाएपछि मेडिकल अधिकृतहरू आन्दोलित बनेका हुन् । कात्तिक १ गतेदेखि नै आन्दोलित उनीहरू कात्तिक ६ गतेबाट इमरजेन्सी र आइसियू सेवा पनि ठप्प पारेका छन् । डाक्टर नै आन्दोलित बनेपछि उपचार सेवा प्रभावित बनेको छ ।

प्रादेशिक अस्पताल मलंगवामा कार्यरत डा। अमित ठाकुरले दशैं जस्तो महापर्वमा समेत तलब नपाएको गुनासो गरे । उनले भने, ‘परिवार चलाउन पनि गाह्रो भएपछि बाध्य भएर हामी आन्दोलन गर्नुपरेको छ ।’

मधेश प्रदेशका विभिन्न अस्पतालमा सयौं छात्रवृत्ति करारका मेडिकल अधिकृतहरू कार्यरत छन् । उनीहरू कोही तलब पाएका छैनन् ।

तलब नपाएपछि सेवा ठप्प पारेर मेडिकल अधिकृतहरू आज जनकपुरधामस्थित मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आएका छन् । मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापनपत्र बुझाउँदै उनीहरू तत्कालै तलब उपलब्ध गराउन माग गरेका छन् ।

अहिलेसम्मको बाँकी तलब र अगामी महिनाको भुक्तानी मसान्तभित्रै आउने सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने आफूहरूको माग रहेको डा. ठाकुरको भनाई छ ।


सम्बन्धित समाचार