Logo

१९ पुस, बारा । परिवार नियोजन गर्ने शिबिरमा बन्ध्याकरण गर्दा एक महिलाको पिसाव थैली काटिएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

बाराको सिमरामा भएको परिवार नियोजन शिबिरमा बन्ध्याकरण गर्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.८ बस्ने बर्ष २६ की अनिता धनुकाईनको पिसाब थैली काटिएको हो । उनको वीरगञ्ज स्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाराको आयोजना र सुनौलो परिवार नियोजनको सहकार्यमा सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको परिवार नियोजन शिबिरमा उनको बन्ध्याकरण गरिएको थियो ।

परिवार नियोजन बन्धयाकरण गर्ने क्रममा त्रुटिवस पिसाब थैली काटिन गएको चिकत्सकले बताएका छन् । उनको वीरगञ्ज स्थित गण्डक अस्पतालमा उपचार भईरहेको अनिताका श्रीमान कृष्णा महत्तोले बताए ।

उनको पिसाब थैलीको अपरेशन पछि अहिले मुत्र नलिबाट पिसाव बाहिर आइरहेको गण्डक अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई सुनौलो परिवार नियोजनले उपचारको खर्च ब्यर्होने गरी गण्डक अस्पतालमा भर्ना गरेको महतोले बताए ।

शिबिरमा ९२ जना महिलाको बन्ध्याकरण गरिएको थियो जसमा धनुकाईनको मात्र स्वास्थ्यमा समस्या देखिएको छ । महिलाको उपचारमा लाग्ने सम्पुर्ण खर्च सुनौलो परिवार नियोजनले ब्यहोर्ने जनाएको छ ।

बन्ध्याकरण गराएका अन्य ब्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । गत पुस १५ गते देखि १७ गते सम्म तिन दिन सिमरामा परिवार नियोजन बन्ध्याकरण शिबिर सञ्चालन गरिएको थियो ।

बाराको १६ वटै स्थानीय तहमा यो शिबिर सञ्चालन हुने जिल्ला जन स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार