१२ कार्तिक, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ ।
दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा आज एक उद्योगलाई जरिवाना गरेको छ । श्रीसिया नदीमा सोझै ढल मिसाइ नदी प्रदुषण गरेको भन्दै टोलीले श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको वातावरण शाखाका प्रकाश एैरेले जानकारी गराए ।
नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले श्रीसिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ । सिंहले पद ग्रहण गरेको ३० महीनामा नदीको प्रदूषणलाई ६० प्रतिशतले घटाउन सफल भएको महानगरको दाबी छ ।
महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन शुरू गरेको हो । वीरगन्ज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ ।
यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व श्रीसिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ ।
वीरगन्जको लाइफ लाइनका रुपमा रहेको श्रीसिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।
नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो । जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालिएको थियो ।