२२ कात्तिक, काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता ९स्पोन्सर० बदल्न २ महिनाको समय ९ग्रेस अवधि० पाउने भएका छन् ।
निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको छ ।
त्यहाँको मानव संशाधन मन्त्रालयले घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था गरेको छ । यस्तै कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।
नेपाल लगायतका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषणलाई देखाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेका छन् । यसका कारण घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएसँगै साउदी अरेबियाले श्रम कानुनमा सुधार गरिरहेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनका आधारमा नेपाल सरकारले ९ वर्षदेखि घरेलु श्रमिकका रुपमा विदेश जान श्रम स्वीकृति बन्द गरेको छ ।
त्यसैले घरेलु काम गर्न विदेश जानेहरु अवैध बाटो र फर्जी कागजपत्र प्रयोग गरेर जाने गरेका छन् । अहिले नेपालबाट साउदीमा पनि अवैध रुपमा घरलु श्रमिकमा रुपमा जानेहरु धेरै छन् ।
उनीहरु रोजगारदाताबाट ‘एक्जिट भिसा’को अनुमति नपाएर चाहेका बेला नेपाल फर्किन नसक्ने समस्या छ । यसले गर्दा श्रमिकले बन्धक भएर काम गर्न बाध्य भएको भन्दै नेपालले साउदीसँगको श्रम वार्ताहरुमा यो विषयलाई जोडतोडका साथ उठाउने गरेको छ ।
साउदी अरेबियाले श्रम वार्तामा घरेलु श्रमिक लैजाने मुद्दालाई प्रधानता दिने गरेको छ । तर, नेपालले घरमा काम गर्ने श्रमिक रोजगारदाताबाट मानसिक, शारीरिक र आर्थिक शोषणमा परेको भन्दै महिला श्रमिकको हकमा लागु हुने गरी श्रम समझदारी नभएका देशमा नपठाउने नीति लिएको छ ।
श्रम वार्ताहरुमा नेपालले सरकारको वैदेशिक रोजगारसम्बन्धी नीति, नेपालको श्रम कानुन, घरेलु श्रमिक विदेश पठाउनुअघि नेपालले खोजेको सुनिश्चितता र संसदको श्रम मामिला हेर्ने समितिले राखेको चासो र निर्देशनबारे ब्रिफिङ गर्दै आएको छ ।
साउदी सरकारका प्रतिनिधिहरुले नेपालबाट जाने घरेलु श्रमिकको हित रक्षाका लागि आफूहरु प्रतिवद्ध रहेको बताउँदै छिटो घरेलु श्रमिकलाई साउदी जान दिन अनुरोध गर्दै आएका छन् । नेपाल सरकारले भने घरेलु श्रमिकको सुरक्षाका लागि आधारभूत रुपमा राखेका शर्तको पालना गर्ने सुनिश्चितता खोजिरहेको छ ।
यस्तो अवस्थामा साउदीले घरेलु श्रमिकको हितलाई मध्यनजर गरेर करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने व्यवस्था गरेको छ । यसबाट समस्यामा परेका नेपाली घरेलु श्रमिकले पनि लाभ उठाउन सक्ने देखिएको छ ।